काठमाडौं, मंसिर ५ । १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ओलम्पिक टर्चलाई देशका सातओटै प्रदेशमा परिक्रमा गराइने भएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सागको ओलम्पिक टर्च सातै प्रदेशमा लगिने जनाएको हो ।
शुक्रबार बिहान स्वयम्भूनाथमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवालले टर्च प्रज्ज्वलन गरेसँगै ओलम्पिक टर्चको परिक्रमा सुरु हुने संघले जनाएको छ ।
ओलम्पिक टर्च परिक्रमाको पहिलो दिन काठमाडौंबाट विराटनगर, दोस्रो दिन जनकपुर, तेस्रो दिन हेटौंडा र चितवन, चौथो दिन लुम्बिनी र बुटवल, पाँचौं दिन सुर्खेत र नेपालगन्ज, छैटौं दिन धनगढी र सातौं दिन पोखरामा परिक्रमा गरी आठौं दिन काठमाडौं ल्याइनेछ ।
त्यसपछि नवौं दिन यही मंसिर १५ गते सागको उद्घाटन समारोहस्थल दशरथ रंगशालामा लगिने मञ्चले जनाएको छ ।
ओलम्पिक टर्च परिक्रमा कार्यक्रममा कीर्तिमानी खेलाडीहरुसँगै ओलम्पियनहरु गरी १३ जना सहभागी हुनेछन् ।
१३औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछ । उद्घाटन र समापन दशरथ रंगशालामा हुनेछ ।
भलिबलका खेलहरु भने मंसिर ११ गतेदेखि नै हुने खेलतालिका छ ।





प्रतिक्रिया दिनुहोस्