काठमाडौं । कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकाय/व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ ।
भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही बर्षअघि अभिलेखालयलाई बुझाइएको थियो । खोजीका क्रममा ८१ बर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको हो ।
राष्ट्रिय अभिलेखालयकी निर्देशक सौभाग्य प्रधानांगका अनुसार १९९५ असार १९ मा कालापानी क्षेत्रमा रहेका बासिन्दाले नेपाल सरकारका नाममा निश्चित अन्न वा पैसाको तिरो बुझाएको प्रमाण भेटिएको छ ।
त्यसमा हाल भारतीय पक्षबाट अतिक्रमित ‘गुञ्जी’(कुञ्जी) का बासिन्दाले पनि तिरो बुझाएको सूची देखिन्छ ।
तिरो प्रमाणमा हाल भारततर्फ पारिएको नावी र कुटीका बासिन्दाको नामसमेत उल्लेख छ । उक्त तिरो संकलन कर्णेल भुविक्रम राणको नेतृत्वमा खटिएको टोलीले गरेको प्रमाण पनि फेला परेको छ । -कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्