काठमाडौं, मंसिर २ । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ ।
ढाकास्थित साभार क्रिकेट मैदानमा सोमबार भएको समूह चरणको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १३९ रनको लक्ष्यलाई बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।
यस जितसँगै लगातार तेस्रो जित निकालेको बंगलादेश समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यसअघि, बंगलादेशले हङकङ र भारतलाई पराजित गरेको थियो ।
बंगलादेशको जितमा नजमोल हुसेनले सर्वाधिक ५९ रनको योगदान दिए । ५६ बल खेल्दै उनले दुई छक्का र ६ चौका प्रहार गर्दै अविजित ५९ रनको योगदान दिएका हुन् ।
त्यस्तै, बंगलादेशका अर्का ब्याट्सम्यान मोहमद्द नाइमले ४५, यसिर अलीले १८ तथा सोम्य सरकारले ११ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र सुसन भारीले समान एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो ।
नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । सोमपालले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ६३ बलमा ४ चौकासहित ३८ रन बनाएका हुन् ।
त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा करण केसीले १८ रन जोडे । कुशल भुर्तेलले १०, करण केसीले १८, आरिफ शेखले ११, पवन सरार्फले ९, विनोद भण्डारीले ८, उपकप्तान दीपेन्द्रसिंह एरीले ६ तथा शरद भेषावकरले एक रन जोडे ।
बलिङतर्फ बंगलादेशका सैयद मिन्हाजुल आबेदिन र सुमन खानले समान ३/३ विकेट लिए भने तनवीर सिंह र मेहदी हसनले २/२ विकेट लिए ।
हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना भने न्यून भएको छ । यसअघि, बिहीबार भएको पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको थियो ।
विभिन्न ८ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन् ।
यस्तै समूह ‘ए’मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । रासस





प्रतिक्रिया दिनुहोस्