काठमाडौं । इरानका राष्ट्रपति हसन रुहानीले सरकारविरुद्ध भइरहेका अराजक र हिंसात्मक प्रदर्शन नियन्त्रण गरिने बताएका छन् ।
राष्ट्रपति रुहानीले फरक मत राख्ने र सरकार गतिविधिप्रति असहमति राख्ने अधिकार भएपनि सार्वजनिक सम्पति तोडफोड गर्ने र हिंसात्मक गतिविधि गर्नेमाथि कारवाही गर्न सरकारले जुनसुकै कदम चाल्नसक्ने चेतावनीसमेत दिएका छन् ।
इन्धनको मूल्य वृद्धि भएसँगै सुरु भएको आन्दोलका कारण सुरक्षाकर्मीसँगको झडपमा कम्तिमा दुई जनाको मृत्यु भएको छ ।
सार्वजनिक स्थलमा तोडफोड गर्नुका साथै व्यापारीक भवन तथा बैंकहरुमा आगजनी गरेको समाचारमा जनाइएको छ ।
करिव एक लाख सर्वसाधारणले गरेको विरोध प्रदर्शन हिंसात्मक भएपछि सुरक्षा अधिकारीहरुले एक हजार भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।
हिंसा अझै भड्किन सक्ने भन्दै इन्टरनेटको पँहुचलाई घटाइएको बताइएको छ । इरानको कदमको अमेरिकाले निन्दा गरेको छ ।
उसले आम नागरिकले सरकारका काम कारवाहीको विरोध गर्न पाउने अधिकारलाई इरानले कुण्ठित गरेको भन्दै निन्दा गरेको हो ।
‘संयुक्त राज्य अमेरिकाले इरानी नागरिकलाई उनीहरुको नेतृत्वविरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनको समर्थन गर्छ’ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
अमेरिकाले आर्थिक नाकाबन्दी गरेसँगै इरानले इन्धनको मूल्य वृद्धि गरेको हो ।
गत वर्ष मे महिनादेखि इरानको अर्थतन्त्र बिग्रिएको भन्दै अमेरिकाले सन् २०१५ को आणविक सम्झौताबाट पछि हट्ने निर्णय गरेसँगै इरानमाथि प्रतिवन्ध लगाएको हो । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्