Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


लगानी बोर्डद्वारा ९७ अर्बको लगानी स्वीकृत, दुवै जलविद्युत् परियोजना


0
Shares

काठमाडौं । लगानी बोर्ड नेपालले ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।

लगानी बोर्ड नेपालको ४७ औं बैठकले अनुमानित ५४ करोड अमेरिकी डलर लागत रहेको माथिल्लो तमोर जलविद्युत् परियोजना र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख लागत रहेको तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत् परियोजना गरी दुईवटा जलविद्युत् परियोजनाका लागि करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो ।

बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना ६७९ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्ता एसजेवीएन लिमिटेडसँग गरिने समझदारी पत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।

त्यसैगरी तमोर जलाशययुक्त जलविद्युत परियोजना ७५६ मेगावाटको सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको लगानी बोर्डका कार्यकारी प्रमुख शुशील भट्टले जानकारी दिनुभयो ।

बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्डमा सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै, बैठकले दाङ सिमेन्ट र दाङ सिमेन्ट कार्यान्वयनका लागि गरिने परियोजना विकास सम्झौताको म्याद एक वर्षको लागि थप गर्ने निर्णय पनि गरेको छ ।