Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


यी हुन् कुवेतविरुद्ध विश्वकप छनोट खेल्ने नेपाली खेलाडी


0
Shares

काठमाडौं, कात्तिक २९ । आउँदो मंसिर ३ गते कुवेतविरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार जारी गरेको २३ सदस्यीय टोलीमा फरवार्ड भरत खवास र मिडफिल्डर मिक्छेन तामाङ पहिलोपटक परेका छन् ।

गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ, डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल रहेका छन् ।

त्यस्तै, मिडफिल्डरमा रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङ रहँदा फरवार्डमा भरतसहित विमल घर्तीमगर, अविशेक रिजाल र नवयुग श्रेष्ठ रहेका छन् ।

दशरथ रंगशाला तयार नभएपछि नेपालले भुटानको थिम्पुमा रहेको रंगशालालाई नै दशरथ रंगशाला सम्झेर ‘होम’ खेल खेल्दैछ ।

पुनःनिर्माण भइरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदन्डअनुसार नबनेपछि ‘फिफा’ र ‘एएफसी’ले खेल तटस्थस्थलमा गर्न एन्फालाई निर्देशन दिएपछि भुटानमा हुन लागेको हो ।

छनोटका सबै ‘अवे’ खेल खेलिसकेको समूह ‘बी’को नेपालले ४ खेलमा ३ अंकमात्र जोडेको छ ।

यसअघि, नेपाल कुवेतसित अवे खेलमा नेपाल ७–० ले पराजित भएको थियो । अष्ट्रेलियासित ५–० ले पराजित नेपाल जोर्डनसित ३–० ले हारेको थियो । नेपालले चाइनिज ताइपेइलाई भने २–० ले हराएको थियो ।