४ असार २०८२, बुधबार | Wed Jun 18 2025


उपत्यकाकै ठूलो बागवानी ओझेलमा


0
Shares

काठमाडौं, असार ३ । धेरैलाई थाहा छैन होला काठमाडौं उपत्यका भित्र फलफुलको ठुलो बागवानी छ भनेर ।

काठमाडौंको दक्षिण पश्चिममा किर्तिपुर नगरपालिकामा रहेको समशितोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेलमा नै छ ।

वि.स. २०१९ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको समशितोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएरपनि खुम्चेर बसेको छ ।

नेपालको मध्यपहाडमा हुने सबै प्रकारका फलफुलको प्रसारको लागि बीउ, बेर्ना, विरुवा, उत्पादन गर्ने भएपनि सरकारको प्राथमिकतामा क्रमसः खुम्चदो छ ।

अंगुर, नासपाती, आरु, किवी, एभोकाडो, हलुवावेद, अम्बा, बयर तथा सुन्तला लगायत ५० भन्दा बढी जातका फलफुलको विरुवा यस केन्द्रले उत्पादन गर्दै आएको छ ।

यस केन्द्रमा उत्पादन हुने जापनिज नासपाति र वाइनको लागि राम्रो मानिएको स्टुवेन अंगुर विशेष रहेका छन् ।

यस्तै यो केन्द्रले मुख्यगरी विरुवा उत्पादन गरेर कृषक तथा व्यवसायीहरुलाई विक्रि वितरण गर्दै आएको केन्द्रकी सुचना अधिकारी सरिता गौतमले बताउनुभयो ।

यति धेरै सम्भावना र महत्व भएको बागवानी केन्द्र अहिले अतिक्रमणमा परेको छ । स्थापना कालमा करिब ४०० रोपनीमा फैलिएको यो केन्द्र सरकारी निकायको कार्यालय, सडक लगायतले क्रमशः अतिक्रमण गर्दै अहिले २७५ रोपनीमा खुम्चन पुगेको छ ।

सरकारले यसको महत्वलाई नबुझ्ने र प्राथमिकतामा नराख्ने हो भने खुम्चिएर सकिन बेर लाग्दैन ।

काठमाडौं लगायतका मध्यपहाडी क्षेत्रमा समशितोष्ण जलवायुमा उपयुक्त हुने फलफुलको विरुवा उत्पादन गर्न यो केन्द्रको प्रचार–प्रसार र क्षमता वृद्धि गर्न आवश्यक छ ।

बजारको अभाव नभएको तर माग अनुसार उत्पादन दिन नसकिएको यो समयमा यस्ता बागवानी केन्द्रको भुमिका अहम् हुनेमा दुई मत नहोला ।