८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


महाव्याधिबीच बाढीको विध्वंस


0
Shares

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी–पहिरोले तहसनहस गर्न थालेको छ । पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोक, बाजुरा र गोरखामा बाढीले १० जना बेपत्ता बनाएको छ । मनाङमा मात्रै बाढीपहिरोबाट दुई सय परिवारका एक हजार बासिन्दा विस्थापित भएका छन्, ५५ घर डुबानमा परेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार मंगलबार साँझ मेलम्ची खोलामा आएको बाढीले किनारका घरहरू बगाउँदा कम्तीमा सातजना बेपत्ता भएका छन् । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रआसपासका स्थानीयलाई बाढीले बगाएकोे उनले बताए ।

मेलम्ची घ्याङमाथि नाम्साङसाङ क्षेत्रमा गएको ठूलो पहिरोले मुहान थुनेपछि मेलम्ची खोलामा बाढी आएको हो । बाढीले हेलम्बु– १ को तिम्बुस्थित खोला किनारका केही घर बगाएको अध्यक्ष शेर्पाले बताए । वर्षा निरन्तर भएकाले खोला बढिरहेको र उद्धार गर्न कठिन भएको उनले बताए । ‘कति बेपत्ता भएका छन् अझै यकिन भइसकेको छैन । कम्तीमा सातजना आएका छैनन्,’ उनले भने । राति अबेरसम्म प्रहरी र स्थानीयले खोला किनारआसपासका मानिसलाई उद्धार गरिरहेको उनले बताए ।

बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथाङनजिक नाकोतेमा बनेको नवनिर्मित मोटरेबल पुल पनि बाढीले बगाएको छ । त्यस्तै, वडा नम्बर २, ३ र ४ मा रहेका आठवटा ट्राउट माछा फार्म पनि बगाएको छ ।

नयाँ पत्रिका