८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


सात प्रदेशको बजेट सार्वजनिक


0
Shares

काठमाडौं । मुलुक कोरोना महामारीले आक्रान्त भइरहेका बेला सातैओटा प्रदेशले संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्ष २०७८र७९ का लागि बजेट ल्याएका छन् ।

प्रदेशहरूले मंगलवार सार्वजनिक गरेको कुल बजेटमध्ये सबैभन्दा ठूलो आकारको बजेट वाग्मती प्रदेशको छ भने गण्डकी प्रदेशको बजेट तुलानात्मक हिसाबले सानो देखिएको छ ।

प्रदेशहरूले ल्याएको बजेटमा कोभिड–१९ रोकथाम र नियन्त्रण, पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ भने धेरैजसो प्रदेशले बजेटमा पुरानै योजनालाई निरन्तरता दिँदै बजेट विनियोजन गरेका छन् । केही प्रदेशले यसअघि सांसद्हरूलाई रिझाउन केन्द्रको सिको गर्दै ल्याएका कार्यक्रम खारेज गरेर स्वास्थ्य पूर्वाधारमा बजेट विनियोजन गरेका छन् भने कतिपय प्रदेशले आगामी वर्षका लागि त्यस्तो खालको कार्यक्रम दोहोर्‍याएका छन् ।

सबैभन्दा ठूलो आकारको बजेट ल्याएको वाग्मती प्रदेश सरकारले चालू आवको भन्दा ६ अर्ब बढाएर आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । वाग्मती प्रदेश सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरेको छ ।

वाग्मती प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यका लागि झन्डै साढे २ अर्ब बजेट पूर्वाधार विकास कार्यक्रमका लागि दिँदै आएको थियो । २ अर्ब ४२ करोड रुपैयाँ सांसदलाई दिँदै आएको सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि पूर्वाधार विकास कार्यक्रम नै खारेज गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए । वाग्मती सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गर्दै उक्त रकम स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार र उपकरण खरीदमा छुट्ट्याएको छ ।

आर्थिक अभियान