Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


एमालेमा जति नेता बूढा, उति जुँगा ठूलाः दोस्रो पुस्ता एकताको कसरतमा


0
Shares

काठमाडौं । ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कसले, किन र केका लागि गर्दैछ यो सब ?’

पार्टी एकतामा सक्रिय युवा नेता योगेश भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए।

पार्टीका शीर्ष नेताहरूमा आफ्नासँग भन्दा पराईसँग सहकार्य गर्न खोज्ने प्रवृत्तिले एमाले विभाजनको संघारमा छ। अधिकांश सर्वसाधारणको सामाजिक सञ्जालमार्फत नै भट्टराईलाई जवाफ थियो, ‘दोस्रो पुस्ताका नेताहरू मिले पहिलो पुस्ताका नेताहरू एकतामा आउन बाध्य हुनेछन्।’

न पनि, दोस्रो पुस्ताका नेताहरू पार्टी एकताका लागि सक्रिय भइरहँदा पार्टी नेतृत्व हाँकेका, हाल नेतृत्व र वरिपरि रहेका तथा आगामी दिनमा पनि पार्टी नेतृत्वको दाबी गरिरहेका नेताहरूबीच भने बोलचाल बन्दको अवस्था छ। 

एकताको वातावरण बनाउनेभन्दा एकले अर्कोलाई आरोप प्रत्यारोप गरेर परिस्थिति झन् जटिल बनाउनेतिर पहिलो पुस्ताका नेताहरू सक्रिय छन्। 

फुटको डिलमा पुगेको एमाले जोगाउन युवा नेताहरू सक्रिय छन्। दोधारे बनेको, पदीय लोभमा फसेको, मन्त्रीका लागि बार्गेनीमा लागेको लगायतका संगीन आरोपहरू आइलागे पनि आफूहरू पार्टी एकताका लागि कुनै कसुर बाँकी नराखी सक्रिय रहने उनीहरूको भनाइ छ। दोस्रो पुस्ताका नेताहरू जतिसुकै दौडधुपमा लागे पनि पहिलो पुस्ताका शीर्ष नेताहरूमा देखिएको अहम् नै समाधानमा बाधक बनेको भट्टराईको बुझाइ छ। 

‘जति नेता बूढा, उति जुँघा ठूला देखिएका कारण समाधान निस्केको छैन,’ भट्टराईले अन्नपूर्णसँग भने। ओली पक्षबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र नेपाल खनाल पक्षबाट भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरू एकताको सुत्र खोजीमा वार्तारत छन्।

दोस्रो पुस्ताका नेताहरू पार्टी एकता जोगाउन सक्रिय हुँदा पार्टीभित्र एकले अर्को पक्षलाई (देखाइदिने) अराजक गतिविधि भने बन्द भएका छैनन्। केन्द्रीय नेतृत्वको निर्देशनविपरीत सुदूरपश्चिम प्रदेशमा एमालेभित्रकै नेपाल–खनाल समूहको सहयोगमा माओवादी नेतृत्वमा सरकार गठन भयो। 

राष्ट्रियसभाको निर्वाचनमा बागमती र लुम्बिनी प्रदेशबाट पार्टी अध्यक्ष ओलीका उम्मेदवार पराजित भए। नेपाल, खनालसहित कांग्रेस, माओवादी गठबन्धनअनुसार दुई नम्बर प्रदेशमा सरकार पुनर्गठन भयो भने गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो। सबैभन्दा पहिला कर्णालीमा ४ सांसदले पार्टी ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरे।  अन्नपूर्ण