बिराज रोस्यारा (इमेज)
कैलाली, कात्तिक २४ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।
राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामापत्र बुझाएका हुन् ।
एक विज्ञप्ति जारी गर्दै उनले कन्चनपुरको एक क्याम्पसको सेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन् ।
तर, क्याम्पसको सेयर बिक्रीमा आफ्नो कुनै संलग्नता नरहेको उनको दाबी छ ।
उनले विज्ञप्तिमा आफूले दुई दशकदेखि व्यवसाय सन्चालन गर्दै आएको भएपनि भ्रम सिर्जना गर्न हठाट सम्पत्ति शुद्धीकरणको दायरामा तान्ने प्रयास भएको सुन्दा आश्चर्यमा परेकोसमेत उल्लेख गरेका छन् ।
उनीसहित १६ जनामाथि महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पसको १५ करोड रुपैयाँ बढी बराबरको सेयर खरिद–बिक्रीमा कीर्ते गरेको आरोप लागेको छ । सो विषयमा जिल्ला अदालत कन्चनपुरमा मुद्दासमेत दायर भएको छ । तर, उनी पक्राउ परेका छैनन् ।
गएको साउनमा जिल्ला अदालत कन्चनपुरमा ठगी र कीर्ते मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले ‘फरार’ अभियुक्तकोरुपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
यस्तै, यही कात्तिक २१ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको धनगढीस्थित सरकारी निवासमा छापामारी केही कागजातहरु नियन्त्रणमा लिएको थियो ।
रावल ११ महिनाअगाडि २०७५ असोज २३ गते राज्यमन्त्री नियुक्त भएका थिए ।
उनी कन्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
राजीनामा स्वीकृत
मुख्यमन्त्री त्रिलोचन भट्टले उनले दिएको राजीनामा आइतबार नै स्वीकृत गरिसकेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्