
काठमाडौं । अबदेखि दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, स्वरोजगार वा सेयर बजारका लगानीकर्ता पनि सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउने भएका छन् । कोषले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारलाई पनि समेट्ने गरी तयार पारेको कार्यविधि अन्तिम चरणमा पुगेको छ । कोषले आगामी आर्थिक वर्षदेखि कार्यविधि कार्यान्वयनमा ल्याउने भएको छ ।
कोषले अनौपचारिक रोजगारीमध्ये कुनै एक प्रकारको रोजगारी वा क्षेत्र तोकी कार्यक्रम सुरु गर्ने कोषका प्रवक्ता विवेक पन्थीले बताए । कोषको पहिलो चरणमा कृषि, निर्माण वा यातायातमध्ये कुनै एक क्षेत्रबाट कार्यक्रमको सुरुवात गर्ने योजना बनाएको छ । कार्यक्रम सञ्चालन लागि कोषले पहिलो चरणको मस्यौदा तयारी पारी सरोकारवालासँग छलफल गरिसकेको छ । अन्तिम चरणको छलफलपछि कार्यविधि कार्यान्वयनमा ल्याइने प्रवक्ता पन्थीले बताए ।
कार्यक्रम सञ्चालनका लागि कोषले स्थानीय तहसँग सम्झौता गर्नेछ । स्थानीय तह आफैँ वा स्थानीय तहमा रहेका बैंक तथा अन्य वित्तीय संस्थाहरूमार्फत योगदान रकम संकलनको व्यवस्था गरिने कोषले तयारी पारेको कार्यविधिमा उल्लेख गरिएको छ । कोषले सहकारी संस्थाहरूलाई कलेक्सन सेन्टरका रूपमा तोक्न सकिने बताएको छ । वार्षिक एकमुष्ट, अर्धवार्षिक, त्रैमासिक वा मासिक रूपमा योगदान रकम भुक्तानी गर्नुपर्नेछ । अग्रिम रूपमा वार्षिक एकमुष्ट योगदान गर्ने श्रमिकलाई निश्चित प्रतिशत छुटको व्यवस्था गर्न सकिने कोषले जनाएको छ ।
कोषले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारका लागि दुई खालका योजना सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक बिमा सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालनमा ल्याउने भएको छ । सामाजिक बिमा योजनाअन्तर्गत कोषले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना राखेको छ । त्यस्तै, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत बचत तथा निवृत्तिभरण योजना समावेश गरेको छ । श्रमिकबाट प्राप्त योगदान रकममध्ये सामाजिक योजनामा १० प्रतिशत, वृद्धावस्था सुरक्षा योजनामा ९० प्रतिशत (बचत योजनामा ३०, निवृत्तिभरण योजनामा ६० प्रतिशत) जम्मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्