Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैन–डब्ल्यूएचओ, नेपालले माग्यो बेलायतसँग जानकारी


0
Shares

काठमाडौं, जेठ २० । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको स्पष्ट गरेको छ ।

बेलायतस्थित एक अनलाइन पत्रिकाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको खबर प्रकाशित गरेपछि डब्लुएचओले नेपालमा त्यस्तो कुनै प्रजाति भेरियन्ट नभेटिएको प्रष्ट गरेको हो ।

बेलायती ट्ब्लोइड अखबार डेलीमेलले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएकाले बेलायतीको छुट्टी समेत प्रभावित बन्न सक्ने समाचार प्रकाशित गरेपछि थुप्रैं अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले खबर दिएका थिए ।

यस्तो समाचार विश्वव्यापी बनेपछि डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रष्ट गर्दै भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन ।’

हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।

यसैबीच, नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावी गरिएकाबारेमा बेलायत सरकारसँग जानकारी मागेको छ ।

नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सञ्चारमाध्यमहरुलाई जानकारी दिनुभएको छ ।

नेपालमा नयाँ भेरियन्ट भेटिएको बेलायती सञ्चारमाध्यमको दावीबारे हामीलाई कुनै जानकारी छैन भन्दै उहाँले नेपालमा अल्फा र डेल्टा भेरियन्ट मात्र भेटिएको प्रष्ट गर्नुभयो ।