३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


बुवा गुमाएकै भाेलिपल्ट आदर्श भन्छन् ‘मेरो बुवाले चलाएको स्कुल हेर, अनि तिम्ले चलाएको देश, लाज लाग्दैन ?’


0
Shares

काठमाडौं । उपचार अभावमा आफ्नो बुवा गुमाएको भोलिपल्छ स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले आफ्नो युट्युबम भावुक भिडियो पोस्ट गर्नुभएको छ ।

मृगौला खराब भएर फेर्नका लागि लामो समयदेखि प्रयासरत बुवा विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नुपरेको दुःख र पीडा र देशको स्वास्थ्य प्रणालीका कारण मानिसको कसरी मृत्यु भइरहेको छ भन्ने विषय समेटेर आदर्शले भिडियो पोस्ट गर्नुभएको हो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) ले गुणस्तरीय डायलासिस सुविधा नदिँदा धेरै बिरामीले अकालमै ज्यान गुमाउनु परेको आदर्शले बताउनुभएको छ । एनएमसीले डायलासिसको ठेक्का नेफ्रो प्लस नामको भारतीय कम्पनीलाई दिएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘कसको उपचार गर्ने कसको नगर्ने भन्ने निर्णय भारतीयले गर्ने हो ?’

एनएमसीका सञ्चालक बसरुद्धिन अन्सारी असाध्यै शक्तिशाली व्यक्ति भएको बताउँदै मिश्रले सरकारले बीस प्रतिशत बेड कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिए नटेरेको आरोप लगाउनुभयो । गतवर्ष प्रधाननत्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको सम्पूर्ण खर्च बेहोरेका अन्सारीले कलेजको शुल्क र सुविधाको विषयमा प्रश्न उठाउँदा गुन्डा लगाएर विद्यार्थी कुट्ने गरेको उहाँको आरोप छ ।

नेशनल मेडिकल कलेजबाट बुवालाई नारायणी उपक्षेत्रीय अस्पताल सार्दा नबिग्रेको डाइलासिस मेसिन पनि बिग्रेको र अन्य अस्पतालका बिरामीको डायलासिस नगर्ने भनिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यहाँका नर्सले डाक्टरका अगाडि डायलासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन ।’

आफ्नो बुवा विनोद मिश्रा इमानदार र मेहनती व्यक्तिका रूपमा स्मरण गर्दै आदर्शले अस्वस्थ हुँदाहुँदै पनि बुबाले आफू कार्यरत विद्यालयको मुहार फेरिदिएको बताउनुभयो ।

‘केपी ओलीले कुर्सी छाडिदिए हुन्छ’, प्रधानमन्त्रीप्रति आक्रोश पोख्दै आदर्शले भन्नुभयो, ‘डायलाइसिसका लागि स्कुटरको पछाडि बसेर हप्ताको दुईपटक मेरो बुबा अस्पताल गएका हुन्, केपी ओली होइन । मेरो बाउले चलाको स्कुल हेर र तिम्ले चलाको देश हेर । अनि लाज लाग्दै भने मलाई भन । काम गर्न दिएनन् भन्छौ ? काम गर्न मन कहाँ छ तिम्लाई ? लाज लाग्दैन ?’

मिश्राले एनएमसी र नारायणी अस्पताल मिलेर आफ्नो बुवाको जीवन खाइदिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘एनएमसी र नारायणी अस्पतालले मिलेर खाइदिए एउटा मान्छेको जीवन । कतिजनाको खान्छन् मलाई थाहा छैन । तर, लड्न प्रयास जारी राखौं । जति जीवन बचाउन सकिन्छ, बचाऔँ ।’

आदर्शले गत केहि सातायता युट्युब र फेसबुमार्फत बुवाको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे निरन्तर अपडेट गराउँदै आउनुभएको थियो । आफ्नो नजिकको नातेदार मृगौला दानका लागि तयार हुँदाहुँदै पनि नेपालको स्वास्थ्य प्रणालीले नस्वीकारेको बताउनुभएको थियो ।