Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


नक्कली स्यानिटाइजर उत्पादन गर्ने उत्सव डिस्टिलरी र पर्सा नेपाल इण्डस्ट्रिजमा प्रहरीको छापा


0
Shares

काठमाडौं, जेठ ९ । प्रहरीले आइतबार काठमाडौं र ललितपुरका दुई वटा नक्कली स्यानिटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ ।

काठमाडौंको बालाजुस्थित उत्सव डिस्टिलरी र ललितपुर इमाडोलको पर्सा नेपाल प्रालि नामको कम्पनीमा छापा मारेर ठूलोम मात्रामा नक्कली स्यानिटाइजर बरामद गर्नुका साथै ती कम्पनीका संचालकहरुलाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उत्सव डिष्ट्रिलरीमा छापा मारेको हो ।

सो डिष्ट्रिलरीले मिथानोल अल्कोहल प्रयोग गरी नक्कली स्यानिटाइजर उत्पादन गरी बजार पठाएको पाइएको प्रहरीले जनाएको छ ।

सो डिस्टिलरीका संचालकद्वय कपिलवस्तु घर भएका कमल अग्रवाल र राकेश अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अग्रवालले निषेधाज्ञा सुरु भएदेखि स्यानिटाइजर उत्पादन गर्न सुरु गरेको प्रहरीमा प्रारम्भिक बयान दिएका छन् ।

उनीहरूले १६ जना कामदार राखेर दैनिक १ हजार लिटर भन्दा बढी स्यानिटाइजर उत्पादन गरी बजारमा पठाईरहेको पनि खुलेको छ ।

यस्तै ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा पनि महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले छापा मारेर नक्कली स्यानिटाइजर बरामद गरेका छन् ।

सो कम्पनीले उत्पादन गरिरहेको प्लस ७५ नामको सेनिटाइजरमा पनि हानिकारक विषादी मिथानोल अल्कोहल मिसाइएको पाइएको छ ।

प्रहरीले कम्पनीका सञ्चालक आशिष प्याकुरेललाई पक्राउ गरेको छ भने चालीस हजार लिटर सेनिटाइजर पनि बरामद गरिएको छ ।

कम्पनी दर्ता समेत नगरी नक्कली स्यानिटाइजर उत्पादन गरिरहेको पाइएको र सो कम्पनीले उत्पादन गरेको हानीकारक स्यानिटाइजर ठूलो मात्रामा बजारमा पठाइएको पनि प्रहरीले जनाएको छ ।

सो स्यानिटाइजरको प्रयोगले आँखा, छाला, फोक्सोलगायतका अंगमा क्षति पु¥याउने र ज्यानै जानसक्ने औषधि व्यवस्था विभागले जनाएको छ ।