Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


प्रणाली भत्कियो, टुट्यो भरोसा : बलबुताका आधारमा सिलिन्डर व्यवस्थापन गर्दै सांसद र मन्त्री


0
Shares

काठमाडौं । सरकारले जिल्ला–जिल्लामा अक्सिजन पुर्याउँछ र नागरिक बचाउँछ भन्नेमा सांसद र स्वयं मन्त्रीलाई नै भरोसा छैन । सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्याउन सांसद र मन्त्रीहरूबीच प्रतिस्पर्धा छ । यही वेला, जिल्ला अस्पतालका नाममा छुट्याइएका सिलिन्डर सीधै जिल्ला लग्नुको सट्टा सांसदका घरघर डुलाएर अमूल्य समय पनि बर्बाद गरिएको छ ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौंबाट गृहजिल्ला अर्घाखाँचीका लागि पठाएका १८ थान अक्सिजन सिलिन्डर गत २९ वैशाखमा नागढुंगा प्रहरीले रोक्यो । अघिल्लो दिन अक्सिजन सकिएर भैरहवाको भीम अस्पताल, बुटवलको धागो कारखानाको आइसोलेसन र नेपालगन्जको भेरी अस्पतालमा १६ जना संक्रमितको मृत्यु भएको थियो । अक्सिजन वितरण अस्तव्यस्त भएको वेला कागजपत्र केही नभएको भन्दै पाँच घन्टासम्म रोकेपछि प्रहरीले अन्तिममा छोड्यो ।

‘जिल्लाको अस्पतालबाट अक्सिजन अभाव भयो भनेर फोन आएपछि मन्त्रीज्यूले सिलिन्डर पठाउनुभएको हो । तर, सिसिएमसीको सिफारिस र पत्र नभएको भन्दै प्रहरीले पाँच घन्टा रोक्ने काम ग¥यो,’ मन्त्री रायमाझीका स्वकीय सचिव लीला जिसीले भने । उनका अनुसार मन्त्री रायमाझीले सुरक्षा निकायसँग कुराकानी गरेपछि गाडी सन्धिखर्क पुगेको थियो ।

जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले मन्त्री रायमाझीले पठाएका १८ थान सिलिन्डरसहित स्वास्थ्य सामग्री प्राप्त गरेको बताए । ‘जिल्ला अस्पतालमा भएका अक्सिजन सिलिन्डर खाली हुनासाथ रिफिल गर्न लैजानुपर्ने र रिफिलका लागि लामो समय लाइन लाग्नुपर्ने अवस्था थियो । हामीले मन्त्रीज्यूसमेत उपस्थित भएको डिसिएमसीको बैठकमा थप अक्सिजन सिलिन्डर आवश्यक पर्ने जानकारी गराएका थियौँ । उहाँले पहल गर्ने प्रतिबद्धता गरेर जानुभएको थियो । सिलिन्डर प्राप्त भएपछि अहिले सहज भएको छ,’ उनले भने ।

दुई सय थान अक्सिजन सिलिन्डर जनकपुर पठाउन थालेको मन्त्री महतोको दाबी

दुई सय थान अक्सिजन सिलिन्डर आफ्नो पहलमा प्रदेश– २ मा आउन थालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले बताएकी छिन् । ‘मेरो पहलमा तत्काल जनकपुरमा दुई सय थान अक्सिजन सिलिन्डर जाँदै छ, थप सिलिन्डर, भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री साताभित्रै पठाउने प्रयासमा छु,’ महतोले भनिन् । आफूले पठाएको अक्सिजन सिलिन्डर सोमबार राति नै जनकपुर पुग्ने मन्त्री महतोले बताइन् ।

तर, ती सिलिन्डर कहाँबाट खोजेर जनकपुर पु¥याउन थालेको भन्नेबारे मन्त्री महतोले स्पष्ट पारेकी छैनन् ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा। प्रमोदकुमार यादवले मन्त्री महतोले पठाउन लागेको अक्सिजन सिलिन्डरबारे आफूलाई केही जानकारी नरहेको बताए । ‘चीन सरकारबाट अनुदानमा आएका सिलिन्डरमध्ये प्रदेश २ लाई दुई सय थान सिलिन्डर तोकिएको पहिला नै जानकारी आएको थियो,’ डा। यादवले भने ।

मन्त्री आलेले २२ सिलिन्डर अक्सिजन रिफिल गरेर डोटी पठाए

वनमन्त्री प्रेमबहादुर आलेले बाँकेमा २२ थान अक्सिजन सिलिन्डर रिफिल गरेर आइतबार गृहजिल्ला डोटी पठाएका छन् । धनगढीस्थित बोलन्या थली संस्थालाई व्यक्तिगत आर्थिक सहयोग गरेर उनले सिलिन्डर भर्न लगाएका थिए ।

स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार जिल्ला अस्पताल डोटीका खाली सिलिन्डर रिफिल गरिदिन मन्त्री आलेले बाँकेका सिडिओलाई फोन गरेका थिए । ‘अक्सिजन भर्न समस्या भइरहेको थियो । मन्त्रीजीले बाँकेका सिडिओलाई फोन गरिदिएपछि सहजै भर्न सकियो,’ बोलन्या थलीका अध्यक्ष यादव जोशीले भने ।

एमाले सचेतक चौधरी सिलिन्डर, कन्सन्ट्रेटर, रेम्डेसिभिरसहितका स्वास्थ्य सामग्री बोकेर गृहजिल्लामा

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हीराबहादुर केसी अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री बोकेर सोमबार गृहजिल्ला दाङ पुगेका छन् । बेलझुन्डीस्थित प्रदेश कोरोना अस्पताललाई काठमाडौंबाट ल्याएको २० थान अक्सिजन सिलिन्डर, तीन थान कन्सन्ट्रेटर, एक सयभन्दा बढी भाइल रेम्डेसिभिर, दुई सय थान पिपिई सेट, चार हजार थान मास्क, २५ जार स्यानिटाइजर, चस्मालगायतका सामग्री हस्तान्तरण गरिएको सांसद चौधरीले बताइन् । अस्पतालमा अक्सिजन अभाव हुन नदिन हरसम्भव प्रयास गर्ने उनको भनाइ छ ।

नयाँ पत्रिका