
काठमाडौं । म्यानमारको जातीय रखाइन विद्रोही समूहले देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरेका छन् ।
सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको संख्यामा सुरक्षाकर्मी खटाएको छ ।
उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि संघर्ष गरिरहेको छ ।
जातीय युद्ध लड्दै आएका विद्रोहीको समूहले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूलाई अपहरण गरेकोे पुष्टि सैनिक प्रवक्ता जा मिनतुनले गरे ।
उनले विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरेको बताएका छन् ।
अपहरणमा परेका सुरक्षाकर्मीको खोजीका लागि हेलिकोप्टर तथा स्थल अपरेसन तत्कालै गरेको भएपनि उनीहरूलाई अझै फिर्ता ल्याउन नसकिएको सैनिक प्रवक्ता मिनतुनले जानकारी दिए ।
यसबारे अराकन विद्रोहीसँग सम्पर्कका लागि प्रयास गरिएको भएपनि उनीहरू प्रतिक्रियाका लागि उपलब्ध हुनसकेका छैनन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्