१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मोहना सिँचाइ आयोजनाबाट सेवा सुरु भएपछि किसानहरु खुशी


0
Shares

-विराज रोस्यारा/ईमेज

कैलाली । कैलालीको मोहना सिँचाइ आयोजनाको काम सम्पन्न भई सिँचाइ गर्न पाएपछि कृषकहरु उत्साहित भएका छन् ।

गोदावरी नगरपालिका–११ ओलानीको मछेली खोलामा निर्माण भएको सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा उपलब्ध भएपछि किसानहरु खुसी भएका हुन् ।

सिँचाइको समस्या भोग्दै गएका कैलालीको गोदावरी नगरपालिकास्थित ओलानीका किसानहरुको समस्या अन्त्य भएको छ । मोहना सिँचाइ आयोजना सम्पन्न भएसँगै किसानको खेतखेतमा सजिलै पानी पुगेको छ ।

स्थानीय मछेली खोलाको पानीले खेत सिँचाइ गर्न पाएपछि ओलानी र आसपासका किसान खुशीले दंग छन् ।

सिँचाइ आयोजनामार्फत् कुलोमा पानी आएपछि खेतीपाती गर्न निकै सहज भएको गोदावरी नगरपालिकाको ओलानीका राजेशबहादुर बडैला बताउँछन् ।

वर्षायाममा मात्रै खोलामा पानी आउने र त्यसमाथि सिँचाइको असुविधा भएकाले विगतका वर्षहरुमा खेतीपाती गर्न आकाशको पानी कुर्नुपथ्र्यो ।

त्यतिमात्र होइन यहाँका स्थानीयलाई  खानेपानीको समेत हाहाकार हुने गरेको छ ।

खानेपानी समस्या र सिँचाइ असुविधाले खेतीपाती गर्न निकै कष्टकर हुने गरेको भएपनि मछेली खोलाको पानी खेतसम्म पुगेपछि समस्याबाट छुटकारा मिलेको अर्का स्थानीय नवलकिशोर कडायतको भनाइ छ ।

यसअघि दुईपटकसम्म सिँचाइ सुविधा पु¥याइए पनि आयोजनाको बाँध भत्किँएपछि किसानहरु आकाशे पानीको भरमा खेतीपाती गर्न बाध्य थिए ।

तेस्रो चरणअन्तर्गत पुनः नयाँ बाँध बनाएपछि वषौँदेखिको समस्या टरेको हो ।

३७ करोड रुपैयाँ लगानीमा निर्मित बाँधबाट ३ हजार २ सय हेक्टर जमिन सिञ्चित हुने लक्ष्य राखिए पनि अहिले २ हजार २ सय हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको वडा नम्बर ११ का अध्यक्ष शिवबहादुर विकको भनाइ छ । सिँचाइ सुविधा नभएका यस्ता ठाउँमा आयोजनामार्फत् सिँचाइको व्यवस्था गरिनुपर्छ ।