Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने डरले सांसदहरूलाई होटेलमा राखियो


0
Shares

काठमाडौं । गण्डकी प्रदेश सभामा सरकारविरुद्ध बहुमत पुर्‍याउन ३१ सांसद चाहिन्छन् । ६० सदस्यीय प्रदेश सभामा अविश्वास प्रस्तावकर्ता दलहरू कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका दुई सांसद छन् । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने प्रस्ट पारिसकेको छ । 

अंकगणितमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रस्ट अल्पमतमा परेको देखिन्छ । तर, गुरुङ नेतृत्वको सरकार जोगिनेमा सत्तारुढ दल एमाले अझै आशावादी छ । बहुमतको अंक भए पनि विपक्षी दलहरू त्रासमै छन् । मत सुरक्षित गर्न सांसदलाई होटेलमा राखिएको छ ।

माओवादी केन्द्र र कांग्रेसका सांसद लेकसाइडको कुटी रिसोर्टमा बसेका छन् । जनता समाजवादीका सांसद होटेल गुडविलमा छन् । फ्लोर क्रसका लागि हुने चलखेल रोक्नका लागि अविश्वास प्रस्तावकर्ताहरू होटेलमा बसेको विश्लेषण छ । त

र, माओवादी सांसद दीपक कोइराला फ्लोर क्रसको चिन्ताभन्दा पनि एकै ठाउँमा बस्दा बैठक बस्न र रणनीति बनाउन सहज हुने भएकाले सँगै बसिएको तर्क गर्छन् । अवस्था तरल नै रहेको स्वीकार गरेका उनले भने, ‘फ्लोर क्रस गर्छन् भन्ने चिन्ताले होइन, सहजताका लागि सँगै बसेको हो । सँगै सरकारमा जाने भनेपछि योजना बनाउने उद्देश्य राखिएको हो । यसलाई अन्यथा रूपमा बुझ्न जरुरी छैन ।’ 

पूर्वमाओवादी नेता रामबहादुर थापा पक्षका भनिएका सांसद मतदानमा अनुपस्थित हुन सक्ने आशंकापछि सांसदहरूलाई एकै ठाउँ राखिएको पनि अनुमान छ । तर, माओवादी प्रमुख सचेतक गायत्री गुरुङले छलफलका लागि आफूहरू एकै स्थानमा जम्मा भएको बताइन् । ‘यो सामान्य हो, छलफलका लागि एकै स्थानमा जम्मा भएका हौँ, हल्लाजस्तो केही होइन,’ उनले भनिन् । नयाँ पत्रिका