Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


ठेकेदारको लापारवाहीका कारण ६ बर्षमा पनि बनेन पुल, भत्किएपछि निर्माण अनिश्चित


0
Shares

डोलराज रानाभाट
चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल सम्पन्न नहुँदै पटक–पटक भत्किएको छ ।

काममा लापरवाही हुँदा पुल निर्माणमा ढिला सुस्ती त भएकै छ । स्पान भत्किँदा मजदुरहरुले समेत ज्याननै गुमाउनु परेको छ ।

सम्झौता अनुसार काम भएको भए यो पुलमा २०७४ साल कार्तिकदेखि सवारी साधन ओहोरदोहोर गरिरहेका हुन्थे ।

२०७२ सालमा ठेक्का सम्झौता भएर काम सुरु भएको यो पुल निर्माणमा ठेकेदारको लापारवाही र सडक डिभिजनको उदासीनताका कारण पटक–पटक म्याद थप मात्रै होइन काम नै गुणस्तरको नभएपछि अहिले स्थानीय आक्रोशित छन् ।

कति सम्म भने ढलान भएको स्पान पटक पटक भत्किएको छ । स्पान भत्कीदा एक जना मजदुरले ज्यान समेत गुमाउनु परेको छ भने घटनामा २ जना वेपत्ता र ८ जना घाइते भएका थिए ।

पर्याप्त सुरक्षा नअपनाई इन्जिनियरहरुको प्रत्यक्ष निगरानी समेत नहुँदा स्टीलको संरचना भत्कीएर मजदुरहरु त्रिशुलीमा डुवेको घटनाका प्रत्यक्षदर्शी तथा स्थानीय देवेन्द्र बहादुर पौडेल बताउनुहुन्छ ।

उपचाररत रहेकाहरु पौडिएर वाँचेपनि दुई जना अझै वेपत्ता छन् । उनीहरुलाई सुरक्षा निकाय र शसस्त्रको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।

सेफ्टी वेल्ट समेत वाधेर काम गरेका उनीहरु पानी भित्रै फलामले च्यापेको हुन सक्ने ठेकेदार घनश्याम पण्डितको अनुमान छ । घनश्याम सहित सवै मजदुर भारत वेतीया जिल्लाका हुन् ।

पुल निर्माण समितिका अध्यक्ष टंकनाथ पौडेलले यस अघि भत्किएको पुलका संचरनाको पर्याप्त अध्ययन विना र भत्किएका संरचना नहटाएसम्म काम सुरु नगर्न पटक पटक आग्रह गरेपनि सम्वन्धित निकायले अटेर गरेको बताउनुभयो ।

२०७४ कार्तिकमा नसकिएको पुल निर्माणका लागि २०७७ साल फागुन १४ सम्म म्याद थप भयो । उक्त मितिमा पनि काम नसकेपछि यही असार मासन्त सम्म म्याद थप भएको थियो ।

तर प्रयोग भएका सामाग्रीको गुणस्तर, प्राविधिक पक्ष फितलो र निरन्रत अनुगमनको अभावमा निर्माण सम्पन्न त परैको कुरा पुल बन्ने हो की हैन ? भन्ने आशंका बडेको छ ।

सडकका महानिर्देशक देखि सरकारी व्यक्तिहरुसँग पटक पटक पुलको गुणस्तर र सुरक्षाको प्रत्याभूत गराउन भनेपनि सुनुवाइ नभएको गुनासो बढ्दै गएको छ ।

२ सय ८ मिटर लामो उक्त पुलको सुरुवाती लागत करिव १६ करोड भए पनि पछि डिजाईन परिवर्तनसँगै लागत २१ करोड पुगेको थियो ।

तर समयमै काम सम्पन्न नभएर पटक पटक पुल भत्किदा स्थानीयमा ठूलो निराशासँगै आक्रोश बढिरहेको छ । (भिडियो हेर्नुहोस्)