
पोखरा, असोज २९ । पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली सशस्त्र प्रहरीले जितेको छ ।
२२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ गर्दै ४२.२ किलोमिटरको दूरी सशस्त्र प्रहरीको टोलीले ४ घन्टा १७ मिनेट २२ सेकेन्डमा पार गरेको हो ।
सशस्त्रको टोली सदस्यमा सन्तोषविक्रम विष्ट, गणेश खत्री र इन्द्रकला नेम्वाङ रहेका थिए ।
सशस्त्रलाई पछ्याएको गोरिल्ला ट्रेल टिम एक मिनेट एक सेकेन्डले पछि पर्दै उपविजेतामा चित्त बुझाउन पुग्यो । गोरिल्ला टोलीमा दुर्गाराज बुढा, रसिला तामाङ र दामोदर बुढामगर थिए ।
त्यस्तै, दौडको तेस्रो स्थानमा भने पाहुना टोली चीनको काइनेटिक टिम पर्न सफल भयो ।
चिनियाँ टोलीका खेलाडीहरु एकल प्रतिस्पर्धामासमेत उत्रिएका थिए ।
एकल प्रतिस्पर्धामा हाङ जीले तीन घन्टा ३९ मिनेट २७ सेकेन्डको समय लगाएर पहिलो भए भने दोस्रो स्थानका हाङसियान फाइले तीन घन्टा ५० मिनेट खर्चिए ।
प्रतियोगिता चिनियाँ पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्