Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


कांग्रेस माओवादी सहमति: अविश्वास प्रस्तावपछि एमसीसीको संकल्प


13
Shares

काठमाडौं । दुई फरक धारका कारण सत्ता गठबन्धनमा अप्ठ्यारो पर्ने देखिएपछि कांग्रेस र माओवादी केन्द्रले एमसीसीसँगको अनुदान सम्झौताका सन्दर्भमा मध्यमार्गी उपाय खोजेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका दलहरुले त्यसपछि संसदबाट एमसीसी सम्झौता अनुमोन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने सहमति जुटाएका हुन् ।

यसअघि देउववाको नेतृत्वमा सरकार भएका बेला तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले नेपालका तर्फबाट एमसीसी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

ओली नेतृत्वमा सरकार बनेपछि नेकपाकै एउटा धार एमसीसीप्रति कठोर बनेको थियो, त्यसैले संसद्मा यो सम्झौता दुई वर्षदेखि दर्ता भएर रोकिइरहेको छ ।

ओलीविरुद्धको सत्ता गठबन्धनका विषयमा छलपल चल्दा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वको सरकार एमसीसी पास गर्ने पक्षमा हुने र त्यसमा माओवादीले समर्थन जनाउनुपर्ने बताएपछि केही समय कुरा यसै अड्किएको थियो ।

‘एमसीसीमै अड्किने अवस्था आउने भएपछि हामीले मध्यमार्गी बाटो खोजेका हौं’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट स्रोतले भन्यो, ‘अविश्वास प्रस्ताव पास भएर देउवाको नेतृत्वमा सरकार बन्नेबितिकै एमसीसीबारे संकल्प प्रस्ताव पास गर्ने गरी सहमतिको खाका तयार भएको छ ।’ कान्तिपुर