Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


औषधि र अक्सिजनको सहज आपूर्तिका लागि एक साता धैर्य गर्न भारतको आग्रह


0
Shares

काठमाडौं । नेपालमा लिक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन आग्रह गर्दै सरकारले शुक्रबार भारतलाई पत्राचार गरेको छ । भारतीय पक्षले भने एक साता धैर्य गर्न अनुरोध गरेको छ ।

नेपालमा भारतको झारखण्डस्थित लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट मासिक एक सय ५० टन अक्सिजन आपूर्ति हुँदै आएको थियो । शंकर अक्सिजन ग्यास प्रालिले आयात गर्ने गरेको थियो । तर, पछिल्लो समय आन्तरिक खपतलाई मध्यनजर गर्दै केन्द्र सरकारले अक्सिजन निर्यातमा रोक लगाएको जानकारी भारतीय उद्योगले दिएको थियो । अहिले लिक्विड अक्सिजन र सिलिन्डर आउन रोकिएको छ । 

नेपालमा संक्रमण तीव्र गतिमा बढ्न थालेपछि हाल मौज्दात रहेको अक्सिजन र सिलिन्डरले नपुग्ने भन्दै स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासले अक्सिजनका लागि पहल गरिरहेका छन् । लिक्विड अक्सिजन, सिलिन्डर, रेमडिसिबिरलगायतका औषधिको आपूर्तिमा सहजीकरण गरिदिन सरकारले कूटनीतिक च्यानलमार्फत भारतलाई औपचारिक आग्रह गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि यसबारे भारतीय समकक्षी डा. हर्षवर्धनसँग कुराकानी गरेका छन् । 

‘हामीले लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर तथा अत्यावश्यक औषधिलगायतको निर्यातमा लगाएको प्रतिबन्ध हटाउन औपचारिक रूपमा कूटनीतिक नोटमार्फत शुक्रबार आग्रह गरेका छौँ । अहिले लिक्विड अक्सिजन र सिलिन्डरको आपूर्ति हाम्रो उच्च प्राथमिकतामा छ,’ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग भने, ‘हाम्रो आग्रहलाई भारत सरकारले सकारात्मक रूपमा लिएको पाएका छौँ । अक्सिजनको आपूर्ति चाँडै हुने वातावरण बन्नेमा हामी आशावादी छौँ ।’ 

स्रोतका अनुसार भारतले एक सातामा नेपालका लागि अक्सिजन र सिलिन्डर आपूर्तिका लागि कानुनी बाटो खोलिदिने आश्वासन दिएको छ । दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारसँग समन्वय गरिरहेको छ । 

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना संक्रमितलाई आवश्यक पर्ने रेमडिसिबिर औषधि बंगलादेशबाट पनि ल्याउने तयारी भएको छ । तर, अक्सिजनका लागि भारतबाहेकको विकल्प नभएको उनको भनाइ छ । नेपालमा भएको मौज्दातले तत्कालको आवश्यकता पूरा हुने जानकारी स्वास्थ्य मन्त्रालयले परराष्ट्रलाई दिएको छ । 

‘हामीले निर्यातको प्रतिबन्ध हटाउन भारतसँग आग्रह गरेका छौँ, त्यो हट्नासाथ निजी क्षेत्रले आपूर्ति गर्ने हो, सरकारले होइन,’ परराष्ट्रका ती अधिकारीले भने । दिल्लीबाट नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजन प्रमुख अनुराग श्रीवास्तव, स्वास्थ्य तथा विज्ञान प्रविधि मन्त्रालयका उच्च अधिकारीसँग कुराकानी गरेका छन् । 

नेपाली अधिकारीले झारखण्डको जमसेदपुरस्थित लिन्ड इन्डिया नामको अक्सिजन फ्याक्ट्रीका पदाधिकारीसँग पनि यसबारे कुराकानी गरेका थिए । त्यहाँका डिस्ट्रिक मजिस्ट्रेटलगायतका पदाधिकारीसँग पनि नेपाली दूतावासमार्फत छलफल भएको थियो । ‘नेपालमा अक्सिजन तथा सिलिन्डर पठाइदिन हामीलाई समस्या छैन, केन्द्र सरकारको निर्देशन आउनासाथ हामी आपूर्तिका लागि खुला गरिदिन्छौँ भन्ने जानकारी स्थानीय प्रशासनबाट आएको छ । हामी केन्द्र सरकारसँग निरन्तर सम्पर्कमा छौँ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने ।  नयाँ पत्रिका