नयाँदिल्ली । दिल्लीमा बस्दै आएका गुल्मी, छत्रपुर गाउँपालिकाका ५५ वर्षीय जेएल शर्मालाई साता दिनअघि कोरोना संक्रमण पुष्टि भयो ।
परिवारले अस्पताल भर्ना गर्न निकै दौडधुप गर्यो । कतै खाली बेड पाइएन । शर्माको स्वास्थ्य थप बिग्रियो । त्यसपछि परिवारले दूतावाससम्म गुहार्यो । सामाजिक सञ्जालमार्फत पनि हारगुहार गर्यो ।
आफ्नै जिल्लावासी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले व्यक्तिगत रुपमै चासो देखाएपछि भने शर्मा बिहीबार अस्पताल भर्ना भएाा छन् । हाल उनी द्धारकाको वेन्सटेस अस्पतालमा् आइसीयूमा छन् ।
चिकित्सकले तत्काल प्लाज्मा व्यवस्था गर्न भनेका छन् । परिवारले प्लाज्माका लागि सहयोग गरिदिन सामाजिक सञ्जालमा अनुरोध गरेको छ ।
भारतमा कोरोना महामारी विकराल बनिरहँदा बेड र उपचारका लागि गुहार लगाउने शर्मा एक्लै नेपाली होइनन् ।
रोजगारीको सिलसिलामा भारतमा रहेका बेला कोरोना संक्रमित भएर समयमा उपचार पाउन नसकेका नेपाली कामदारको संख्या दिनहुँ बढेको छ ।
केही उपाय नलागेपछि उनीहरुले सामाजिक सञ्जालार्फत सहयोगको याचना गरिरहेका छन् ।
संक्रमित भएका नेपालीले विशेषगरी प्लाज्माा, औषधि, बेड र अक्सिजनको चरम अभाव खेप्नुपरेको छ ।
दिल्ली, महाराष्ट्र, उतरप्रदेश, गुजरात, मध्यप्रदेशलगायत राज्यमा अक्सिजनको चरम अभाव छ ।
प्रवासी नेपाली संगठनहरुका अनुसार एक सातायता सहयोगका लागि नेपाली कामदारले भारततिरबाट याचना गरिरहेका छन् ।
‘अक्सिजन, बेड र औषधि चाहियो भनेर फोन आइरहेको छ । स्थिति भयावह छ’, अखिल भारत नेपली एक समाजका अरबी खड्काले भने, ‘पोहोर खाना चाहियो भन्थे, यसपालि हामीलई बचाउनुपर्यो भनेर रुँदै फोन गर्छन् ।’ कान्तिपुर










प्रतिक्रिया दिनुहोस्