काठमाडौं । कोभिड– १९ संक्रमितको संख्या बढिरहे पनि शैक्षिक संस्थामा पठनपाठन जारी राख्ने वा बन्द गर्नेबारे सरकारको ठोस निर्णय नआउँदा सञ्चालकदेखि अभिभावकसम्म अन्योलमा परेका छन् । शिक्षा, स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहबाट छुट्टाछुट्टै अपिल गर्दा शैक्षिक संस्था सञ्चालन गर्ने वा नगर्ने भन्नेमा सञ्चालक र अभिभावक अन्योलमा छन् ।
कोभिड– १९ को जोखिम बढेसँगै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा समेत निकै कमी आएको छ । केही शैक्षिक संस्थाले वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेका छन् । कतिपयले कहिले सिफ्टमा फेस टु फेस कक्षा र कहिले अनलाइन कक्षा सुरु गरेका छन् ।
पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले त्रासका कारण विद्यालयमा विद्यार्थी संख्या घटेको र विद्यालय सञ्चालनका सम्बन्धमा जिम्मेवारी लिएर निर्णय नगर्दा अन्योल बढेको बताए । ‘जिम्मेवारी कसैले नलिएर एकले अर्कोलाई देखाउने काम भइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले शिक्षालाई देखाएको छ, शिक्षा मन्त्रालयले स्थानीय तहले निर्णय गर्न सक्ने जनाएको, तर स्थानीय तह केन्द्रको निर्णयको पर्खाइमा छन् ।’
काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रमा अहिले पनि अधिकांश विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि विद्यार्थी संख्या कम हुँदै गएको छ । कतिपय विद्यालयले लिएको परीक्षामै पनि विद्यार्थी अनुपस्थित भएका छन् । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले फेस टु फेस कक्षा सञ्चालन भए पनि १० देखि १५ प्रतिशत विद्यार्थी कम भइसकेको बताए ।
पद्मोदय माविमा समेत विद्यार्थी संख्या निकै कम भएको थियो । सामान्य अवस्थामा ४०–५० जना हुने कक्षामा पछिल्ला दिनमा १०–१५ जनाको मात्र उपस्थिति हुने गरेको छ । अहिले एकजना विद्यार्थीमा कोभिड– १९ संक्रमण देखिएपछि एक साताका लागि फेस टु फेस कक्षा बन्द गरी अनलाइन सुरु गरिएको छ । अनलाइन कक्षामा आधा विद्यार्थी पनि सहभागी छैनन् ।
कतिपय अभिभावकले फोन गरेर आफ्ना छोराछोरी विद्यालय पठाउन नसकिएको जानकारी गराउन थालेका छन् । ‘सरकारबाट ठोस निर्णय नआउँदा अन्योल भयो, शिक्षा, स्वास्थ्य मन्त्रालय र स्थानीय तहका छुट्टाछुट्टै धारणा छन्, हामी द्विविधामा छौँ ।’ विश्व निकेतन माविले अहिले जोर र बिजोर रोल नम्बरका विद्यार्थीलाई फरक–फरक दिन विद्यालय बोलाएर कक्षा सञ्चालन गरेको छ ।
शिक्षामन्त्री शैक्षिक संस्था बन्द गर्ने पक्षमा देखिएका छैनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक कार्यक्रममा शैक्षिक संस्था बन्द भएमा विद्यार्थी खेल्न जाने बताए । उनले बाहिर खेल्न जानुभन्दा विद्यालयमै विद्यार्थी सुरक्षित भएको दाबी गरेका छन् । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्