Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जनस्वास्थ्यमाथि गम्भीर खेलबाड : स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डविनै क्रिकेट मैदानमा दर्शक खचाखच


0
Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को दोस्रो वेभले चौतर्फी सन्त्रास छ, संक्रमितको संख्या बढेको–बढ्यै छ र सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण उपाय अपनाउन आग्रह गर्दै आएको छ । तर, शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डका सबै मानक भत्काइयो । दर्शकको भिड र गतिविधि हेर्दा लाग्थ्यो– नेपाल सम्पूर्ण रूपमा कोरोनमुक्त छ । 

एक वर्षभन्दा बढी समयपछि घरमै आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगिता, त्यसमाथि नेदरल्यान्ड्सविरुद्धको उद्घाटन खेल । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकको हुल उर्लियो । तर, दर्शकको भिड व्यवस्थापनमा आयोजकको गम्भीर लापरबाही देखियो । खेलको नशाले जनस्वास्थ्यमाथि ठूलो जोखिम बनायो । 

आयोजकका अनुसार खेलका लागि चार हजार नौ सय टिकट बिक्री भएका थिए । त्यसबाहेक दुई हजार त पास नै वितरण गरिएको थियो । 

खेलको प्रायः समय दर्शक नेपाली टोलीको समर्थनमा हुटिङ गरिरहेका थिए । समर्थनमा कराइरहेका अधिकांश समर्थकको मुखमा मास्क थिएन । मैदान प्रवेश गर्दा तापक्रम मापन गरिएको थिएन । र, दर्शकका लागि स्यानिटाइजरको पनि व्यवस्था थिएन । जब कि प्रतियोगिता सुरु हुनु एक दिनअघि आयोजक क्यानले दर्शकका लागि सुरक्षाको सम्पूर्ण तयारी अपनाइने जनाएको थियो । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्यानका जनरल म्यानेजर रौनक मल्लको भनाइ थियो, ‘मैदानमा आवश्यकताअनुसार स्यानिटाइजरका बोतल बाँड्नेछौँ । साथै, समर्थकलाई सामाजिक दूरी कायम गर्न लगाइनेछ ।’ तर, रौनकले भनेजस्तो मैदानमा कुनै तयारी देखिएन । सामाजिक दूरी कल्पनाबाहिर थियो । स्यानिटाइजरको एउटा पनि बोतल उपलब्ध थिएन । भद्रगोल अवस्थापछि क्यानका अधिकारी बोल्नसमेत हिच्किचाए । खेल सकिएपछि क्यानका जनरल म्यानेजर रौनकले प्रतिक्रिया दिन मानेनन् । उनले आफू आधिकारिक व्यक्ति नभएको भन्दै जिम्मेवारीबाट पन्छिए । रौनकले छोटो प्रतिक्रियामा भने, ‘म यो विषयमा बोल्ने आधिकारिक व्यक्ति होइन, थप नसोध्नुहोला ।’

क्यानले प्रतियोगिता आयोजनाका लागि जोरा स्पोर्टस् म्यानेजमेन्टलाई ‘आउट सोर्सिङ’ गरेको जनाएको छ । क्यानकै भनाइअनुसार प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन जोराले नै हेरेको थियो । तर, जोराका मालिक आमिर अख्तर पनि शनिबारको भद्रगोल अवस्थाबारे बोल्न मानेनन् । उनले जिज्ञासामा भने, ‘यो प्रतियोगिताबारे मलाई केही नसोध्नुहोला ।’ 

मैदानमै पुगेर खेल हेर्न पाउनु दर्शकको अधिकार हो । क्रिकेटलाई माया गर्ने नेपाली दर्शक त्यो अधिकारका लागि हकदार पनि छन् । तर, कोरोना भाइरस संक्रमण बढ्दै गरेको जोखिमपूर्ण समयमा खेल आयोजना गर्दा सुरक्षा मापदण्डलाई उत्तिकै ध्यान दिइनुपथ्र्यो । तर, आयोजकले व्यवस्थापन गर्न सक्नेभन्दा धेरै दर्शकलाई टिकट बेचेर जोखिम बढायो भने यस्तो संक्रमणका वेला दर्शक आफैँले पनि न्यूनतम सावधानी अपनाएनन् । त्यसैले प्रश्न छ– मैदान पुगेका दर्शकमध्ये कसैमा कोरोना संक्रमण भेटियो भने जिम्मेवारी कसले लिन्छ ? नयाँ पत्रिका