काठमाडौं । छिमेकी भारतसँगै नेपालमा कोभिड– १९ को संक्रमण तीव्र गतिमा फैलिएको छ । अहिले गत वर्षकै भाइरस फेरि फैलिएको हो कि यो नयाँ ‘भेरियन्ट’ हो भन्नेमा सर्वत्र जिज्ञासा छ । भेरियन्ट पहिचान गर्न सरकार, विश्वविद्यालय तथा गैरसरकारी संस्थासँग ६ मेसिन भए पनि उपयोग गरिएको छैन ।
कोभिड– १९ को नयाँ भेरियन्ट हो कि होइन भनेर निश्चित गर्ने ‘जिनोम सिक्वेन्सिङ’ गर्न नेपालमा तीन मेसिन पहिले नै जडान भएका छन् । विधि विज्ञान प्रयोगशाला नास्टमा एक र सेन्टर फर डायनामिक नेपालसँग यस्ता दुई उपकरण थिए । त्यस्तै जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुर र धुलिखेल अस्पतालमा नयाँ उपकरण आएको छ । त्यति मात्र होइन, विश्व स्वास्थ्य संगठनको अनुदानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि नयाँ ‘सिक्वेन्सिङ’ मेसिन आएको छ । तर आश्चर्य, यत्रो महामारीबीच पनि यी कुनै पनि उपरकण प्रयोग गरिएको छैन ।
पछिल्लो तीन महिनामा तीन मेसिन ल्याइएको छ । तर, स्वदेशमै भएका उपकरण चलाउनुको सट्टा सरकारले नमुना हङकङ पठाउने गरेको छ । एक महिनाअघि पठाइएको नमुनाले नयाँ भेटियन्ट पुष्टि गरेको थियो । त्यसयता १५ नमुना पठाइएको रिपोर्ट अझै आएको छैन ।
‘अहिले फैलिएको भाइरसको वास्तविक स्वरूप के हो, यो कति संक्रामक र घातक छ, अन्य देशको भाइरससँग मिल्छ वा मिल्दैन भन्ने जान्न र त्यहीअनुसार रणनीति बनाउन यी उपकरण अत्यावश्यक हुन्छन्,’ जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित भन्छन्, ‘तर, यसमा न सरकारको आफ्नै अग्रसरता छ, न गैरसरकारी क्षेत्रले गरेको प्रयासलाई हौसला छ ।’
नेपालमा संक्रामक रोगको परीक्षण गर्ने सबैभन्दा ठूलो प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु हो । नयाँ संक्रमण पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले ६० लाख रुपैयाँको लगानीमा यो प्रयोगशालालाई जिन (आनुवंशिक) सिक्वेन्सिङ मेसिन दिएको हो, तर जनशक्ति नभएकाले उपकरण चलेको छैन । ‘मेसिन त आइपुगेको छ, तर जिन सिक्वेन्सिङ गर्न सक्ने जनशक्ति अहिले छैन, त्यसैले उपकरण सञ्चालन गरिएको छैन,’ प्रयोगशालाकी निर्देशक डा. रुणा झाले भनिन् ।
यत्रो अन्तर्राष्ट्रिय आपतमा पनि नयाँ जनशक्ति खोज्न, काममा लगाउन र सहयोग लिन सरकारले पहल गरेको छैन । ‘उपकरण चलाउने हो भने जनशक्ति भर्ना गर्न सकिन्छ, तर बजारमा पनि धेरै जनशक्ति छैन । तैपनि मान्छे खोजेर उपकरण चलाउने प्रयासमा छौँ,’ उनले भनिन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको उपकरण केही दिनमा सञ्चालनमा आउने दाबी गर्छन् । ‘अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लागि सिक्वेन्सिङ मेसिन आइसकेको छ । जडान गर्न बाँकी छ । केही दिनभित्रै सञ्चालनमा आउनेछ ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मेसिन सञ्चालनमा आएपछि नमुना हङकङ पठाउनु नपर्ने उनको भनाइ छ । ‘अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नास्ट र स्वास्थ्य मन्त्रालयको समन्वयमा काम गर्ने भनेर टिम तयार गरिएको छ,’ उनी भन्छन् । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्