Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


असिनाले २५ रोपनीको तरकारी नष्ट


0
Shares

काठमाडौं । छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ।

८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए। ‘आलुबाहेक बन्दाकोभी, मटरकोसा र साग टिप्ने बेला हुन लागेको थियो’, थापाले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो।’

उनले लघुवित्त र सहकारीबाट ३ लाख रुपैयाँ ऋण काढेर तरकारी खेती गरेका थिए। तरकारी नष्ट भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ। यस्तो विनासकारी असिना २९ वर्षअघि २०४९ सालमा परेको उनको भनाइ छ।

त्यसयता असिना परे पनि तरकारी बाली क्षति परेको थिएन। अर्का स्थानीय दीपक गुरुङको २० रोपनीमा फलेको तरकारी असिनाले चुटेर नष्ट गरिदिएको छ।

‘बिहीबार बिहानसम्म वारी तरकारीले हरियै देखिन्थ्यो’, गुरुङले भने, ‘शुक्रबार बिहान हेर्दा जग्गा मात्रै देखें।’ ३ लाख रुपैया नोक्सानी भएको उनले बताए।

अर्का किसान शेरबहादुर विष्टको १० रोपनी वारीमा बन्दाकोभी फलेको थियो। केही दिनभित्रै टिपेर बजार लैजाने उनको योजना थियो। तर असिनाले नष्ट गरि जमिनमै मिलाइदिएको दुखेसो उनले पोखे।

अन्नपूर्ण