१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


‘सेल्फी’ खिच्नेक्रममा तमिलनाडुमा नवविवाहितसहित चारजनाको मृत्यु


0
Shares

तलिलनाडु, असोज २१ । दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले ‘सेल्फी’ फोटो खिच्नेक्रममा ज्यान गुमाएका छन ।

उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

एकापसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र उनले अन्यलाई पनि तानेको बताइएको छ ।

सो नवविवाहित पुरुषले आफ्नो बहिनीलाई बचाउन भ्याए । तर, बाँकी सबै डुबेका बताइएको छ ।

सेल्फीको मोहले हाल दुर्घटना बढेको बताइन्छ ।

‘द हिन्दू’ पत्रिकाकाअनुसार आइतबार कृष्णागिरीको बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए । साथमा दुलहाका बहिनी पनि थिइन् । साथमा अन्य तीन किशोर–किशोरी पनि रहेका जनाइएको छ ।

सो दुर्घटनामा १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै तानेको बताइएको छ ।

सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी मृत्युको संख्या २५९ पुगेको थियो । जसमध्ये आधा भारतीय नागरिक रहेका बताइएको छ ।

भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन् ।

भारतको हरियाणा राज्यमा मे महिनामा तीन किशोरहरूले रेलवे मार्गमा सेल्फी खिच्नेक्रममा अगाडिबाट आएको रेललाई छल्ने कोसिस गरेका थिए । तर, विपरीत दिशाबाट आएको रेलको ठक्करबाट उनीहरूको ज्यान गएको थियो ।

सोही वर्ष ओडिसा राज्यमा एकजना पुरुषले एक हात्तीसँगै उभिएर सेल्फी खिच्दै गर्दा उक्त हात्तीले सूँढले कसेर तिनको ज्यान गएको थियो ।

सामाजिक सञ्जालमा अरूलाई प्रभावित गर्ने प्रयासमा मानिसहरूले जोखिमपूर्ण सेल्फी फोटो खिच्ने गरेको भन्दै त्यस्ता व्यवहारविरुद्ध जानकारहरूले चेतावनी दिएका छन् । रासस/एएफपी