Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


झोला बोकेर विद्यालय जाँदै हजुरआमाहरू


0
Shares

काठमाडौं । व्यास नगरपालिका भादगाउँकी ६५ वर्षीया नारायणी भट्टराई बिहान सबेरै उठेर घरधन्दामा बुहारीलाई सघाउँछिन् । सासू–बुहारी मिलेर बालबालिकालाई विद्यालय पठाउँछन् । पछि–पछि झोला बोकेर नारायणी पनि घरबाट निस्कन्छिन् । उनको झोलामा पनि किताबकापी छन्, दिनभर विद्यालयमा पढेर बेलुका फर्कन्छिन् । 

‘छोरा बिहान क्याम्पस र दिउँसो विद्यालय पढाउँछ, उसलाई र नातिनातिनीलाई बटाउन बुहारीलाई काम धेरै हुन्छ, त्यसैले मिलेर गर्छौँ, त्यसपछि म पनि स्कुल जान्छु,’ उनी भन्छिन् । 

विद्यालय जाने नारायणी एक्ली हजुरआमा होइनन् । दमौली र आसपासका हजुरआमाहरू अहिले नियमित विद्यालय जान्छन् । व्यास नगरपालिका– ३ स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयले दिवा कक्षाअन्तर्गत गृहिणी शिक्षा कार्यक्रम सञ्चालन गरेपछि आमाहरू विद्यालयमा आकर्षित भएका हुन् । 

लहड होइन रहरले विद्यालय गइरहेका उनीहरूले लगनशील भएर अध्ययन पनि गरिरहेका छन् । कतिपय अक्षर चिनेर, मोबाइलमा समाचार पढ्न सक्ने भएपछि विद्यालय आउन छाडेका छन्, कतिपय नेपाली मात्र होइन, हिसाब र अंग्रेजी सिक्दै छन् । 

०६७ देखि गृहिणी शिक्षा कार्यक्रम सुरु गरिएकोमा आठ सयभन्दा बढी आमाले शिक्षा हासिल गरिसकेका छन् । पहिलो वर्ष ०६७ मा ९५ जना आमा भर्ना भएका थिए भने अहिले २६ जना छन् ।

‘सुरुमा कखरा सिके पुग्छजस्तो लागेको थियो, तर सिक्दै गएपछि झन्झन् रहरलाग्दो रहेछ, अब त एक दिन स्कुल गइनँ भने ठूलै गल्ती गरेजस्तो लाग्छ,’ सात वर्षदेखि विद्यालय गइरहेकी ६० वर्षीया धनमाया गौलीको अनुभव छ । 

विद्यालय जाने, पढ्ने र अघि बढ्ने धोको उनलाई सानैमा थियो । ‘तर, बाआमाले गाई–बाख्रा हेर्न पठाउनुभयो । दाइले पढेको देख्दा मलाई पनि रहर लाग्थ्यो, तर दाइ विद्यालय जाँदा म वनतिर जानुपथ्र्यो,’ उनी भन्छिन्, ‘यो जन्म यस्तै भयो, अर्को जन्ममा पढ्न–लेख्न पाऊँ भन्ने लाग्थ्यो, तर त्यो धोको यही जीवनमा पूरा भएको छ, म त दंग छु ।’

उनलाई अक्षरका अनेक रूपरंग देख्दा पहिले आश्चर्य लाग्थ्यो, अहिले भने माया लाग्छ । ‘पढ्दै जाँदा राम्रो हुँदै गयो भने एसइई पास गर्ने उद्देश्य छ ।’ महिला, त्यो पनि ६ दशक पूरा गरेकी । समाज र परिवारले हौसला दिन पनि कन्जुस्याइँ गर्छ । ‘पढ्न जान्छु भन्यो भने श्रीमान् रिसाउनुहुन्थ्यो, हप्कीदप्की पनि हुन्थ्यो, त्यसैले भजन–कीर्तन र सत्संगमा जाने हो भनेर हिँड्नुपथ्र्यो,’ नारायणी भन्छिन्, ‘छिमेकीले पनि खिसिट्युरी गर्थे, तर लुकीचोरी भए पनि स्कुल जान थालेँ, अहिले पनि डर लाग्छ, तर डरभन्दा रहर ठूलो छ ।’

त्यस्तै तिलुमाया आलेलाई पनि छिमेकीले हँसिमजाक गर्छन् । तर, उनको रहर भने झन्झन् बढेको छ । ‘पढेपछि थाहा भयो, नपढेर कति ठूलो गल्ती गरिएको रहेछ भन्ने । मोबाइलको नम्बरसमेत अरूलाई हेर्न दिनुपथ्र्यो, अहिले त समाचार पनि पढ्न सक्ने भएका छौँ,’ उनले भनिन् । 

अधिकांश आमा सानोमा पढ्ने इच्छा हुँदाहँुदै पनि बाध्यताले खुम्चिएको बताउँछन् । मिश्रीमाया घर्ती क्षेत्री ७१ वर्षकी भइन्, उनी विद्यालय जान थालेको दुई वर्ष भयो । कागजमा हस्ताक्षरसमेत गर्न नजानेर ल्याप्चे लगाउने उनी अहिले भने स्वस्थानी तथा रामायणको किताबसमेत पढ्न सक्छिन् । 

बुढेसकालमा सिकेको यो सीपलाई आमाहरूले निकै मूल्यवान् ठानेका छन् । ‘आमाहरूले केही पनि जान्नुहुन्थेन । त्यसैले सुरुमा पढाउन निकै कठिन भयो, तर रहरसँगै लगन थियो, त्यसैले धेरै सिक्नुभएको छ,’ शिक्षिका बिनु श्रेष्ठ भन्छिन्, ‘अहिले त केही सोध्नुप¥यो भने मलाई मोबाइलमा म्यासेज पनि गर्नुहुन्छ, यो परिवर्तन देखेर निकै खुसी लाग्छ ।’ 

शिक्षा विभागअन्तर्गत रहेर व्यास नगरपालिकाको समन्वयमा गृहिणी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । यसको आर्थिक व्यवस्थापन नगरपालिकाले गर्दै आएको प्रधानाध्यापक तोयानाथ निरौलाले बताए । ‘हजुरआमा–आमाहरूको जोस–जाँगर र पढाइप्रतिको लगाव देखेर हामी चकित भएका छौँ, उहाँहरूको उपस्थितिले हाम्रो विद्यालयको गौरव बढेको छ,’ उनी भन्छन् । विद्यालयमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गृहिणी शिक्षा कार्यक्रमको पढाइ हुन्छ । अहिले २६ आमा अध्ययन गरिरहेका छन् । नयाँ पत्रिका