Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


भारत पुर्‍याइएका किशोरी गिरोहको फन्दामा परेको आशंका


0
Shares

काठमाडौं । घाँस काट्न जाँदा बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, कसले लग्यो उनीहरुलाई ?

किशोरीहरुले गायिका बन्न राजीखुसीले भारत पुगेको उतर दिए पनि घटनाको प्रकृति, उनीहरुको अवस्था र सीमा पार गरेको परिवेश हेर्दा प्रहरीको आशंका कुनै संगठित गिरोहमाथि छ, जसलाई पत्ता लगाउन महोत्तरी र धनुषासाग जोडिएको सीमा सिल गरिएको छ ।

सधैंझै मंगलबार दिउँसो २ बजे घाँस काट्न खेततिर लागेको देखिन्छ । घाँस काट्न हँसिया र बोक्ने बोरा सबैले लगेका थिए । घरभन्दा करिब १ किमि पूर्वको खेतमा उनीहरुलाई ३ बजेतिर स्थानीयले देखेका थिए ।

त्यसपछि उनीहरु देखिएनन् । ५/६ बजेसम्म घाँस बोकेर सधैं घर फर्किने उनीहरु मंगलबार अबेलासम्म आएनन् । एउटै टोलका सात जना किशोरी बालिका रातिसम्म घर नफिर्किएपछि बस्तीमा सन्नाटा छायो ।

अनेक अड्कलबाजी गर्न थालियो । सातै घरमा रातभर रुवाबासी चलिरह्यो । हरेक खेत र आलीमा उनीहरुलाई खोजियो ।

घरघरमा पुगेर सोधपुछ गरियो तर उनीहरु भेटिएनन् । महोतरी, भैगहा नगरपालिका ८ धर्मपुरका सातै किशोरी र बालिका बेपत्ता भएको १४ घण्टापछि भारत, विहारको सीतामढी नजिक बुधबार बिहान फेला परे ।

सीमामा खटिएका भारतीय अर्ध सुरक्षा बल (एसएसबी) को समन्वयमा भारतको रेल्वे प्रहरीले सीतामढी नपुग्दै उनीहरुलाई नियन्त्रणमा लिएको खबरले गाउँको सन्नाटा एकाएक रहस्यमा बदलियो ।

नेपाल प्रहरी प्रदेश २ प्रमुख डीआइजी धिरजप्रताव सिंहका अनुसार मंगलबारै भारततिर छिरेका सातै जनालाई भारतीय प्रहरीको सहयोगमा फेला पारिएको र अबेर रातिसम्म नेपाल ल्याइपुर्याइनेछ ।

‘राति नै सितामढी पुगेको देखिन्छ, कसरी उता गए, बुझ्दै छौं’, डीआइजी सिंहले भने, ‘उनीहरु नेपाल आएपछि मात्रै कसरी भारत पुगे र कसले लग्यो भन्ने थाहा हुन्छ ।’

धर्मपुरको एउटै टोलका १२ वर्षीया सीमा पासवान, १२ वर्षकै रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षकै रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान मंगलबार अपराह्नदेखि बेपत्ता भएका थिए । अस्मिता कक्षा १२ मा, रिया र ज्योति कक्षा ८ मा, नगिना कक्षा ७ मा र रञ्जना र अर्चना कक्षा ५ मा पढ्छन् ।

भारतीय प्रहरीले फेला पारेपछि गायिका बन्न भारतिर हिडेको उनीहरुले बयान दिएका छन् तर नेपाली सुरक्षा अधिकारी र बेपत्ता भएका किशोरी–बालिकाको परिवारले भने उनीहरूलाई भारततिर लैजाने गिरोह नै रहेको आशंका गरेका छन् ।

भारतीय सुरक्षाकर्मी एसएसबीसँग समन्वय गरेका सशस्त्र प्रहरी प्रदेश २ प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमले किशोरी–युवतीलाई गाइड गरेर भारत लगेको देखिएको बताए । ‘कसैले गाइड गरेरै उनीहरूलाई भारतसम्म पुर्‍याए,’ सशस्त्र प्रहरीका डीआईजी गौतमले भने, ‘भीडभाड हुने र सुरक्षा पोस्ट नरहेको बोर्डरबाट भारत छिरेको देखिन्छ ।’

मोबाइल र सामाजिक सञ्जालभन्दा परै रहेका यी सातै जना चेली अचानक कसरी बेपत्ता भए ? भारततिर किन लागे ? संशय छ । महोत्तरी प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि उनीहरू आफैं भारततिर गएको देखिन्न । ‘किशोरी–बालिकासँगै अन्य कोही फेला परेका छैनन्,’ महोत्तरी प्रहरीका एसपी दिनेश आचार्यले भने, ‘उनीहरूको ट्राभल हिस्ट्री पत्ता लगाएपछि कोसँग गएका हुन्, थाहा हुन्छ ।’

घाँस काट्न हिँडेका सातै जनालाई भारत लैजान वारिपारि दुवैतिर सवारी साधन प्रयोग गरिएको प्रहरीको भनाइ छ । ‘भारत छिर्न हामीले आशंका गरिएको बोर्डर मलिवडा पनि धर्मपुरबाट २५ किलोमिटर टाढा छ,’ सशस्त्र प्रहरी महोत्तरीका प्रमुख एसपी सुरेश सापकोटाले भने, ‘पारि गएर बस चढेको खबर छ । वारि भने रिक्सा वा अटो प्रयोग गरेको हुन सक्छ ।’

सीतामढीमा फेला परेका सातै किशोरी–बालिकालाई लिन सशस्त्र प्रहरी इन्स्पेक्टरको कमान्डमा एक टोली परिवारका सदस्यसहित बुधबार भारत पुगेको थियो । यो टोली दिउँसै सीतामढी पुगे पनि कागजी प्रक्रिया लम्बिँदा उनीहरूलाई बुधबार अबेर राति नेपाल ल्याइएको हो ।

कान्तिपुर