काठमाडौं । म्यानमार सैनिकले आफ्नो वार्षिक सशस्त्र दिवस आफ्नै नागरिकमाथि बर्बर गोली चलाएर मनाएको छ । दुई महिनाअघि भएको सैनिक कुपछिको सबैभन्दा भयानक दिन शनिबार ८९ नागरिक मारिएका छन् । खासमा सैनिक र प्रहरीले अन्धाधुन्ध गोली चलाएका छन् । त्यो पनि एक होइन, दर्जनौँ सहरमा ।
कतिको ज्यान गयो ? स्वतन्त्र पुष्टि हुन सकेको छैन । राजनीतिक बन्दीहरूको संगठनले शनिबारको प्रदर्शनमा ८९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । राजधानी यांगुनमा सक्रिय स्वतन्त्र अनुसन्धानकर्ताहरू भन्छन्– टोल–टोलमा गोली चलेको छ, घाइतेलाई प्रदर्शनकारीले अस्पतालतर्फ लगेका छन्, राज्यले एकमुष्ठ विवरण सार्वजनिक गरेको छैन । त्यसैले मृतकको संख्या अहिले यकिनसाथ भन्न सकिन्न । अनलाइन समाचार साइट म्यानमार नाउले मृतकको संख्या एक सय १४ पुगेको बताएको छ । शान्तिपूर्ण प्रदर्शनमा एकै दिन यति धेरै जनताको हत्या आधुनिक इतिहासमा असाधारण घटना हो । दुई महिनाअघि कु भएयता भएका प्रदर्शनमा म्यानमारमा चार सय नागरिक मारिएका छन् ।
संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्च आयुक्तको कार्यालयले भनेको छ, ‘४० भन्दा बढी सहरमा गोली चलेको छ, सयौँ घाइते भएका छन् । थुप्रै मारिएका छन् । हामी सम्पूर्ण रिपोर्ट संकलन गरिरहेका छौँ । बालबालिकालाई पनि गोली हानिएको छ, उनीहरूको हत्या भएको छ । खासमा प्रजातन्त्र मास्न र सैनिक शासन बलियो बनाउन यो सब दमन भइरहेको छ ।’
मान्छेहरू दिनदिनै गिरफ्तार गरिएका छन् । तर, राजनीतिक बन्दीको तथ्यांक सार्वजनिक भएको भन्दा कैयौँ बढी छ । गिरफ्तार भएका नागरिकलाई कागजात दिने कानुनी बन्धनबाट सैनिक शासनले आफैँलाई उन्मुक्त राखेको छ । घरबाट गिरफ्तार गरिएकाहरूलाई हिरासतमै मार्ने गरिएको छ । त्यसरी गिरफ्तार गरिएका कतिपय नागरिक बेपत्ता छन् । कतिको बीभत्स लास आफन्तलाई फिर्ता गर्ने गरिएको छ । कुटपिट गरेर, गोली हानेर क्षतविक्षत बनाइएका लास आफन्तलाई हस्तान्तरण गर्ने गरिएको छ । खासमा कुको विरोध गर्नेहरूलाई तर्साउन सेनाले यस्तो रणनीति नै लिएको छ ।
आफ्नै जनतामाथि म्यानमार शासनको यो बर्बरता देखेर विश्व आक्रोशित छ । म्यानमारको युरोपियन युनियन प्रतिनिधिमण्डलले भनेको छ, ‘म्यानमारको ७६औँ सशस्त्र बल दिवस आतंक र अपमानको दिनका रूपमा चिनिनेछ । सशस्त्र हतियारधारीले निहत्था बालबालिका, महिला र आमनागरिकको हत्या गर्नु मानवताविरोधी अपराध हो ।’
‘सशस्त्र बल दिवस’का अवसरमा शनिबार सेना प्रमुख मिन आङ लाइङले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले लोकतन्त्र रक्षा गरिरहेको र चाँडै निर्वाचन हुने दाबी गरेका छन् ।
‘हामी लोकतन्त्रकै रक्षाका निमित्त काम गरिरहेका छौँ, म्यानमारमा निर्वाचन हुनेछ,’ नेसनल टेलिभिजनबाट सम्बोधन गर्दै सेना प्रमुख मिन आङले भने । उनले निर्वाचन कहिले हुने भन्नेचाहिँ खुलाएका छैनन् ।
सेना प्रमुख मिन आङले प्रदर्शनकारीलाई चेतावनी दिएका छन् । पछिल्ला दिनमा सैनिक कारबाहीमा निधन हुनेको संख्या हेरेर प्रदर्शनकारीले केही सिक्नुपर्ने उनको भनाइ छ ।
‘सेनाको गतिविधिपछि अहिलेसम्म प्रदर्शनकारीले केही सिक्नुपर्ने थियो, गोली तपाईंको टाउको वा पछाडि ढाडमा पनि लाग्न सक्छ,’ उनले धम्कीपूर्ण भाषामा भने । सेनालाई गोली चलाउन आदेश नदिएको उनको दाबी छ । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्