Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


ब्युँताइँदै कोभिड अस्पताल


0
Shares

काठमाडाै‌‌ । कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ। स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टाइनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् । 

प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड—१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो। तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ‘संक्रमण देखिएपछि मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ’, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख अम्बिकाप्रसाद चौलागाईंले भने, ‘बिरामी आउनासाथ राख्न समस्या हुन दिनेछैनौं।’

करारका चिकित्सक, नर्स र पारामेडिकललाई फागुन २८ गते हटाइएको थियो । मेडिकल अफिसर ८, स्टाफ नर्स ८, एचए ८, स्विपर ३, इलेक्ट्रिकल र प्लम्बर ४, बायोमेकानिकल इन्जिनियर १, कार्यालय सहायक ९  र १ जना गार्ड थिए।

अस्पतालका निमित्त संयोजक एपोलोकुमार भगतले मन्त्रालयका सचिवसहित टोली आएर जनशक्तिका विषयमा छलफल गरेको बताए। ठूलो लगानीको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले विभिन्न तहका ४१ कर्मचारी नियुक्त गरेको थियो। नेसनल ट्रेडिङको भवनमा प्रदेश सरकारले सुरुमा ८० बेडको अस्पताल सञ्चालन गरेको थियो। आईसीयू ८, एचडीयू २२ र रिकभरी १२ बेडसहितको अस्पतालमा कोभिड महामारीका बेला दैनिक ४० देखि ६० जना बिरामी आउने गरेका थिए।

झापाको मेची प्रादेशिक अस्पतालको नयाँ भवनमा राखिएको जिल्लाको एक मात्र कोभिड अस्पताल पनि संक्रमितको संख्या घटेसँगै बन्द थियो। उक्त अस्पतालमा बुधबारसम्म पनि ताला लागेको छ। तर, संक्रमण बढे पुनः सञ्चालन गर्न सम्बन्धित निकाय खटिएका छन्। अस्पतालमा कोभिड—१९ संक्रमितका लागि चाहिने सम्पूर्ण संरचना यथावस्थामा रहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए। शाहीका अनुसार आवश्यक परे जुनसुकै बेला अस्पताल कोभिडका बिरामी राख्न तयार छ।

संक्रमितको उपचार गर्न मेची प्रादेशिक अस्पतालकै फिजिसियन डा. गोविन्द कँडेलको संयोजकत्वमा ८ सदस्य समिति गठन गरिएको थियो। अस्पतालमा करिब ५० वटा आइसोलेसन बेड छन्। कोभिड अस्पताल हेर्दै आएका स्वास्थ्यकर्मी बिरामी शून्य भएपश्चात् प्रादेशिक अस्पतालमै फर्केका थिए।

‘आवश्यक परेका बखत स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउन सकिन्छ’, अस्पताल विकास समितिका अध्यक्ष एवं जिसस प्रमुख सोमनाथ पोर्तेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अस्पताल बन्द भएको छैन, बिरामी नभएकाले मात्र नखोलिएको हो।’

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको कोभिड अस्पताललाई थप व्यवस्थित गरी सञ्चालन गरिने भएको छ। भारतसँग सिमाना जोडिएको सुनसरीमा संक्रमितको संख्या वृद्धि हुन थालेपछि उच्च सतर्कता अपनाउन सबैलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। ढकालले कोभिड अस्पताल तयारी अवस्थामा राख्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएको सुनाए। प्रतिष्ठानको कोभिड अस्पतालमा बिरामी भर्ना गर्न र भर्ना भएका बिरामीको उपचार गर्न आवश्यक चिकित्सक, नर्स र कर्मचारी तयारी अवस्थामा राख्न भनिएको उनको भनाइ छ।

प्रतिष्ठानको कोभिड अस्पतालमा १५ आईसीयू, २५ एचडीयू र ६० नर्मल बेड तयारी अवस्थामा रहेको प्रतिष्ठानका प्रवक्ता डा. चूडामणि पोखरेलले बताए। उनका अनुसार चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ। अन्नपूर्ण