Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रधानमन्त्रीले अभिभावकत्व लिएका मुगुकी साङमुले आर्थिक अभावका कारण विद्यालय छाडिन्


26
Shares

काठमाडौं । प्रधानमन्त्री, मन्त्रीहरु एंव सांसदहरुका साथै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरीब र असहाय परिवारका बालबच्चाको अभिभावकत्व ग्रहण गर्ने एक समय फेसन चलेको थियो ।

तर ती अभिभावकत्व ग्रहण गरेका बालबालिकाको अवस्था अहिले कस्तो छ भन्नेबारे सम्बन्धित सबै बेखबर भएको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुकी ठिल्ले साङमु लामाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

त्यसै गरी उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि छिरिङ टेन्जोङ लामालाई अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

त्यस्तै पूर्णशिक्षामन्त्री गिरिराजमणि पोखरेलले अभिभावकत्व गर्नुभएकी छोरी र अन्य मन्त्री सांसदहरुले अभिभावकत्व गरेका बच्चाहरुको दयनीय अवस्था रहेको पाइएको छ ।

प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेर छोरी सरह बनाउनुभएको मुगुकी ठिल्ले साङमु अहिले अभाव र तनावका कारण विद्यालय जानै छाडेकी छिन् ।

३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाउनुभयो ।

तर खर्चको अभावमा र विद्यालय जाँदा एंव गाउँघर पुग्दा सबैले प्रधानमन्त्रीकी छोरी भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी हुन् ।

अभाव र तनावका कारण निकै तीक्ष्ण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुंगिने चिन्तासम्म बढेको छ ।

यसले अभिभावकत्व ग्रहण गरिएका बाँकी बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ । समाचारपत्र