१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


यौन व्यवसायमा संलग्न रहेकै अवस्थामा उद्धार (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र सानु माली (इमेज)

काठमाडौं, असोज ६ । राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले काठमाडौंको सडकबाट कुलत र लागुऔषध दुर्व्यसनमा फसेका झन्डै १०० किशोर–किशोरीको उद्धार गरेको छ ।

त्यसक्रममा बालबालिकाहरु लागुपदार्थको बेचबिखन र यौन व्यवसायमा संलग्न भएकै अवस्थामा भेटिएका थिए ।

आइतबार रातको ९ बजेदेखि बिहानको साढे २ बजेसम्म राजधानीका विभिन्न सडकमा रहेका बालबालिकालाई उद्धार गर्नेक्रममा हाम्रो पनि टोली पुग्दा कतिपय बालिका र किशोरीहरु यौन व्यवसायमा संलग्न भइरहेकै अवस्थामा भेटिएका थिए ।

बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी र स्वयंसेवकहरुको सहयतामा उद्धार गर्नेक्रममा अधिकांश किशोरहरु लागुपदार्थको दुर्व्यसनी भेटिए । एक बालक त लागुपदार्थ बेचबिखन गरिरहेकै अवस्थामा भेटिए ।

उनीहरुलाई उद्धार गर्न केन्द्रका प्रतिनिधिलाई हम्मे–हम्मे परेको थियो ।

बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख मोहनविक्रम दाहालले उद्धारकार्य कठिन भएतापनि यसलाई निरन्तरता दिइने बताए ।

जसो–तसो सम्झाइ–बुझाइ नियन्त्रणमा लिइएकाहरुलाई केन्द्रले बौद्धको आरुबारीस्थित सोबर रिकभरी सेन्टरमा राखिएको छ ।

यो सुधार केन्द्रका सम्पूर्ण कर्मचारीहरु पनि कुनै समय यसरी नै सडकबाट उठाइएकाहरु नै छन् । सुधारगृहमा पुर्‍याएका यिनीहरु साधारण जीवनमा फर्किसकेका छन् ।

आफ्नो विगतको कहालीलाग्दो दिन सम्झेर उनीहरु अहिले कुलतमा फसेर सडकमा पुगेका बालबालिकाहरुलाई उद्धार गर्न सहयोग गरिरहेका छन् ।

उद्धार गरिएका बालबालिकालाई राखिदिएवापत् सोबर सुधारगृहलाई प्रतिव्यक्ति ८ हजार रुपैयाँ दिने गरेको राष्ट्रिय बालअधिकार परिषद्का प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए ।

यौन व्यवसायमा संलग्न रहेकै अवस्थामा उद्धार गरिएका किशोरीहरुले आफूहरु सडकमा आइपुग्नुमा विभिन्न बाध्यता रहेको प्रतिक्रिया दिए ।

सडकमा रहेका बालबालिका र किशोर–किशोरीहरुलाई पुनःस्थापना गर्न बालबालिका खोजतलास समन्वय केन्द्रले गरेको यो प्रयासका कारण ३० प्रतिशत सडक बालबालिकाको संख्यामा कमी आएको छ ।

भिडियो हेर्नुहोस्