२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढ्दो, विपन्न परिवार लाभान्वित


0
Shares

प्रकाश नेपाल

इलाम, असोज ५ । सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति इलाममा नागरिकको आकर्षण बढ्दै गएको छ ।

आर्थिक अवस्था कमजोर भएकाहरुलाई स्वास्थ्य सेवामा समेट्ने उद्देश्यले ल्याइएको कार्यक्रमबाट धेरै लाभान्वित बनेका हुन् ।

आर्थिक रुपमा विपन्न भएकै कारण उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै सरकारले २०७३ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । जसअन्तर्गत इलाममा हालसम्म ७० हजार ७ सय ७४ जना यस कार्यक्रमसँग आबद्ध भएका छन् भने १० हजार ४ सय ज्येष्ठ नागरिकको बीमा गरेर सेवा सुरु भइसकेको छ ।

भौगोलिक कठिनाइ गरिबी नागरिकको चेतनास्तर लगायतका चुनौतीका बाबजुद बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य बीमा बोर्ड इलामका प्रमुख खेम अधिकारी बताउँछन् ।

बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् । स्वास्थ बिमाकै कारणले अस्पतालमा बिरामीको चापसमेत बढ्दै गएको इलाम अस्पतालका चिकित्सकहरुको भनाइ छ ।

प्रत्येक परिवारमा ५ जनासम्मको लागि ३ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा थप ७०० रुपैयाँ शुल्क लाग्ने गरेको छ । बीमा गरेपछि एक वर्षसम्म परिवारको सदस्यलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा प्रदान गरिने छ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिने व्यवस्था छ ।

स्वास्थ्यबीमा कार्यक्रमले विपन्न नागरिकलाई पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त गराएको सेवाग्राहीको भनाइ छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा लागू भएको हो ।