२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मोदीको ६९औं जन्मोत्सवमा पशुपतिमा विशेष पूजा


0
Shares

काठमाडौं, असोज ३ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ६९औं जन्मोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ ।

रुद्राभिषेकसहितको विशेष पूजा बिहान साढे ९ बजेपछि गरिएको थियो ।

मोदीको दीर्घायु, दीर्घ सुशासन र स्वच्छ भारतको लक्ष्यसहित निरन्तर अघि बढोस् भन्ने संकल्पले शुक्रबार विशेष पूजा गरिएको पशुपतिनाथका मूल अर्चक रावल गणेश भट्टले राससलाई जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न भारतीय जनता पार्टी (भाजपा)का नेता सञ्जीव शुक्लको नेतृत्वमा कमलेश तिवारी, उमेश गुप्ता, राकेश तिवारी, लालता साहू, डा. शिवमोहन गुप्तासहितको समूह काठमाडौं आएको छ ।

सन् १९५० सेप्टेम्बर १७ तारिखका दिन जन्मिएका भारतीय प्रधानमन्त्री मोदी ६९ वर्ष पूरा भइ यसै हप्ता ७० वर्ष प्रवेश गरेका छन् ।

दोस्रोपटक मोदी भारतको प्रधानमन्त्री भएको १०० दिन पूरा भएको अवसरसमेत पारेर विशेष पूजा गरिएको भारतीय समूहका नेता शुक्लले राससलाई जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषको रसिद काटी मोदीका तर्फबाट मूल भट्टले विशेष पूजा गरेका हुन् ।

विशेष पूजापछि पशुपति प्रांगणमा नेपाल–भारत मित्रताको कामना गरिएको थियो ।

भारतबाट आएको समूहले पशुपतिनाथको प्रसाद प्रधानमन्त्री मोदीलाई लैजाने समूह प्रमुख शुक्लले बताए । रासस