
काठमाडौं, भदौ २९ । देशैभर डेंगी रोगको संक्रमण बढेपछि सर्वसाधारणमा त्रास फैलिएको छ । यही मौका छोपेर कतिपय निजी अस्पतालहरुले डेंगी परीक्षणका लागि किट आवश्यक हुने भन्दै चर्को मूल्यमा किट बेच्ने गरेको गुनासो पनि आईरहेको छ ।
तर शुक्रराज सरुवा रोग केन्द्रले भने सामान्य रगत परीक्षणबाट डेंगी संक्रमण खुट्याउन सकिने भन्दै किट प्रयोग गर्नु नपर्ने स्पष्ट पारेको छ ।
काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगी रोगको परीक्षण गराउनेको भिड पछिल्लो केही दिन यता निकै बढेको छ । सामान्य ज्वरोमा नै परीक्षण गराउन अस्पताल आउनेहरुका कारण अस्पतालमा निकै घुईचो बढेको हो । तर अस्पतालले भने परीक्षण गराउन आउनेहरुमध्ये धेरै कममा मात्र डेंगीको संक्रमण देखिएको भन्दै त्रसित नहुन सबैलाई आग्रह गरेको छ ।
अस्पतालका निर्देशक डा. वाशुदेव पाण्डेले डेंगीको संक्रमण देखियो भने पनि नआतिकन घरमै आराम गरेर बस्न र झोलिलो खानेकुरा खान सुझाव दिए ।
रगत परीक्षणबाट पत्ता लाग्ने डेंगी रोगमा सरकारले किटको प्रयोग नगर्न समेत सबै अस्पताललाई आग्रहसमेत गरेको छ । हाल निजी अस्पतालहरुले किटको प्रयोग गरी रगत परीक्षणको नाममा चर्को शुल्क लिने गरेको बिरामीहरुले गुनासो गरेका छन् । किटको प्रयोग विना नै डेंगी रोगको परीक्षण गर्न सकिने भन्दै अस्पताल प्रमुख डा. वाशुदेव पाण्डेले सामान्य रगत परीक्षणबाट पनि डेंगी भए/नभएको पत्ता लगाउन सकिने बताए ।
डेंगीरोगको त्रासबाट मुक्त भई यसलाई सामान्य समस्या मान्न चिकित्सकहरुले आग्रह गरेका छन् । ज्वरो आउदैमा डेंगीको समस्या नदेखिने र व्यक्ति आफैँ सचेत हुने हो भने पनि डेंगी रोग नियन्त्रण गराउन सकिने बताउँदै आएका छन् । डेंगी रोग नियन्त्रण गराउन व्यक्ति र समुदायको समेत निकै ठुलो भूमिका रहन्छ । घर वरपर पानी जम्न नदिने, सरसफाईमा ध्यान दिने, झुल टाँगेर बस्ने र ज्वरोको लक्षण देख्नासाथ झोलिलो खानेकुरा खाने, प्यारासिटामोल खाने र घरमै आराम गर्दा पनि डेंगी रोग नियन्त्रण गराउन सकिने चिकित्सकहरुले बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्