
काठमाडौं । भारतले नेपालमा उत्पादन भएको बिजुली आफ्नो बजारमा पुर्याउने बाटो खुला गरेको छ । तर चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको छ ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृत गरेको सीमापार अन्तर्देशीय विद्युत् आयात–निर्यात कार्यविधिले नेपालमा उत्पादन भएको बिजुली चारतमा बेच्ने बाटो खुला गरेको हो।
भारतसित जमिनको सीमा जोडिएको र विद्युत् व्यापारसम्बन्धी सम्झौता भएको मुलुकको बिजुली खरिद गर्न सकिने गरी व्यवस्था भारतले गरेको हो । नेपाल र भारतबीच सन् २०१४ मा विद्युत् व्यापार सम्झौता भइसकेको छ ।
भारतले नेपालसहित भुटान र बंगलादेशसँग पनि यस्तो सम्झौता गरेको छ भने चीनसँग विद्युत्सम्बन्धी द्विपक्षीय सम्झौता गरेको छैन । भारतले विद्युत् सम्झौता नभएका मुलुकको नियन्त्रण र लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको हो । नेपालले चिनियाँ लगानीमा झण्डै आठ सय मेगवाटका विभिन्न जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) गर्न लागेका बेला भारत सरकारले यस्तो कार्यविधि स्वीकृत गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले चिनियाँ लगानीको १३५ मेगावाट बिजुलीको पीपीए गर्नै लागेको छ । भारतले सन् २०१६ मा जारी गरेको सीमापार विद्युत् व्यापार निर्देशिकामा पनि तेस्रो मुलुकले लगानी गरेको बिजुलीलाई बर्जित गरेको थियो । साथै भारतीय कम्पनीका ५१ प्रतिशत नियन्त्रण भएका कम्पनीले उत्पादन गरेका बिजुलीले मात्र उसको बजारमा प्रवेश पाउने व्यवस्था गरेको थियो ।
तस्वीर : गुगल
प्रतिक्रिया दिनुहोस्