२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


साँझसँगै टिपरको कब्जामा काठमाडौं : बर्षेनी कति हुन्छ दुर्घट्ना ?


0
Shares

काठमाडौं । भदौ ८ गते रातको १० बज्दै थियो, सडकमा त्यति चाप थिएन। पुछाङ भोटे अफिसको काम सकेर तीनकुनेबाट बा३८प २३९३ नम्बरको बाइकमा बिस्तारै जोरपाटीतिर लागे ।

तर उनको यात्रा बीचमै टुंगियो । सडक कब्जा गरेर अन्धाधुन्ध हुइँकिएको टिपरको निर्मम सिकार बने उनी ।

तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर दियो ।

मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुछाङ पनि घटनास्थलबाट जिउँदो उठ्न सकेनन् । अन्य दुईवटा मोटरसाइकलमा सवार चार जनासमेत गम्भीर घाइते भए ।

‘टिपरले मोटरसाइकललाई कुल्चिनेबित्तिकै सडकका अन्य सवारी अनियन्त्रित भए र अरू दुइटा मोटरसाइकल पनि त्यहाँ आएर ठोक्किए’, महानगरीय ट्राफिक प्रहरीका एसपी रविकुमार पौडेलले भने, ‘टिपर अग्लो हुने भएकाले पछिल्लोपटक ठोकिएका मोटरसाइकल पनि सजिलैसँग चक्काको भित्र परे ।’

मोटरसाइकलमा चढेका अर्का एकजना त टिपरको ठक्करबाट उछिट्टिएर सडकपारि टिनको बारबाहिरै पुगे ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तजनले दोषीमाथि कारबाही माग गर्दै महानगरीय प्रहरी वृत्त गौशालामा नाराबाजी गरे ।

टिपर चालकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, चालकको लाइसेन्स खारेज हुनुपर्ने, निष्पक्ष अनुसन्धान हुनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग उनीहरूको छ ।

टिपरको अन्धाधुन्ध गतिले निम्त्याएको सडक दुर्घटना योे पहिलो भने होइन । बितेका ८ वर्षको तथ्यांक हर्ने हो भने प्रत्येक वर्ष टिपर जोडिएका दुर्घटना बढेको बढ्यै छन् ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार आव ०६९/०७० मा काठमाडौं उपत्यकामा मात्र ६९९ वटा दुर्घटनामा टिपर र टिपरजस्ता ठूला सवारी जोडिएको देखिन्छन् ।

त्यस्तै ०७०/०७१ मा दुर्घटनाको यो संख्या बढेर ८९२ पुग्यो । ०७१/०७२ मा ९४७ मा वटा सडक दुर्घटनामा टिपर जोडिएको तथ्यांक ट्राफिक प्रहरीसँग छ ।

०७२/०७३ मा १ हजार २१० वटा दुर्घटना टिपरका कारण भए । ०७३/०७४ मा यो संख्या बढेर १ हजार ४०० पुग्यो । त्यस्तै ०७४/०७५ मा १ हजार ५८० वटा दुर्घटना यही कारण भए ।

०७५/०७६ मा यो संख्या बढेर १ हजार ७९१ पुग्यो । र, ०७६/०७७ को दुई महिनामा १६५ दुर्घटना टिपरले गराएको तथ्यांक ट्राफिक प्रहरीसँग छ । -अन्नपूर्णपोष्ट दैनिकबाट