
-केशब भण्डारी/ईमेज
बुटवल । देशैभर फैँलदै गएको डेंगीको संक्रमण रूपन्देहीमा पनि भयावह बन्दै गएको छ ।
डेंगीको संक्रमणबाट एक सय भन्दा धेरै विरामी परेका छन् भने उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु भएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै डेंगीका ७० जना भन्दा बढी बिरामी भर्ना भएका छन् ।
त्यसबाहेक रुपन्देहीकै अन्य अस्पतालहरुमा पनि डेंगीको संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु, वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको मृत्यु भएको हो ।
अस्पतालमा साउन २८ देखि डेंगीका बिरामी भेटिएको लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक पुष्पराज जोशी बताउँछन् ।
भदौको दोस्रो साताबाट डेंगीका बिरामी ह्वात्तै बढेका हुन् । बिरामी बढेपछि लुम्विनी अस्पतालले सहज उपचार सुविधा दिन सकेको छैन । आकस्मिक कक्षमै कोचिएर डेंगीका बिरामीको उपचार भैरहेको छ ।
यसले गर्दा संक्रमण फैलिने आशंका बढेको छ । उपचारका लागि आउने उच्च ज्वरोका बिरामी मध्ये परीक्षण गर्दा अधिकाँशमा डेंगीको संक्रमण भेटिने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण खनालले बताए ।
अहिले रुपन्देहीका एक दर्जन भन्दा बढी अस्पतालमा डेंगीका बिरामीको उपचार भैरहेको छ ।
भयावह बन्दै गएको डेंगी रोकथाम र उपचारमा तिनै तहका सरकारले प्रभावकारी कदम नचालेकाले सहज तरिकाले उपचार गर्न समेत गाह्रो भएको गुनासो सर्वसाधारणको छ ।
रूपन्देहीमा ०६७–६८ मा पहिलोपटक डेंगएका बिरामी फेला परेका थिए । तीमध्ये चार जनाको मृत्यु भएको थियो ।
अहिले डेंंगीका विरामी बढेपछि परीक्षणका लागि किटको पनि अभाव हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्