२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


दक्षिण अफ्रिकामा हिंसा, ७५५ विदेशीलाई सुरक्षित स्थलमा राखियो


0
Shares

जोहानेसबर्ग, भदौ २५ । दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ ।

पछिल्लो समय दक्षिण अफ्रिकाका विभिन्न सहरमा विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच हिंसा भडकिएको छ ।

विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका थिए ।

रक्षामन्त्री नोसिभिवे मापिसाले राजधानी जोहानेसबर्गबाट ३५ किलोमिटर पूर्वतर्फको डीएच विलियम्स एन्ड सोलो कम्युनिटी सेन्टरमा विदेशी नागरिकलाई सुरक्षासाथ राखिएको जानकारी दिए । यहाँ करिब २२८ जना शरणार्थी बालबालिका पनि रहेका छन् ।

दक्षिण अफ्रिकामा गत साता हिंसा भड्किएको थियो । विदेशी नागरिकको हातमा मुलुकको अर्थतन्त्र गएको भन्दै विदेशी नागरिकमाथि स्थानीयले आक्रमण गरेका थिए ।

रक्षामन्त्री मापिसाकाअनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा हालसम्म करिब ७०० व्यक्तिलाई गिरफ्तार गरिएको छ ।

गत मंगलबारसम्म हिंसाका कारण १२ जना मारिएका छन् । जसमा १० जना दक्षिणी अफ्रिकी नागरिक छन् ।

उनले विदेशीलाई पर्याप्त मानवीय सहायता उपलब्ध गराइएको बताए ।

यसै साता जिउज्यानको असुरक्षाको कारण देखाउँदै ६४० जना नाइजेरियाली नागरिक स्वदेश फर्कंदै छन् ।

रक्षामन्त्री मापिसाले दक्षिण अफ्रिका विदेशी नागरिकप्रति असहिष्णु मुलुक होइन, छैन भन्दै कानुन हातमा लिने जोसुकैमाथि कडा कारबाही गरिने बताए । रासस/सिन्ह्वा