२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आत्महत्याः ‘परिवार र नजिकका व्यक्तिहरु बढी चनाखो हुनुपर्छ’ (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र राममान डंगोल (इमेज)

काठमाडौं, भदौ २४ । ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नारासहित विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन आत्महत्या रोकथाममा जनचेतना बढाउने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नेपालमा गत आर्थिक वर्ष पाँच हजारभन्दा बढी व्यक्तिले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । जुन अहिलेसम्मकै उच्च हो ।

अप्राकृतिक मृत्युको कारण मानिने आत्महत्याको यो तथ्यांक निकै चिन्ताजनक देखिन्छ ।

व्यक्तिका आकांक्षा, चाहना, आवश्यकता पूरा नभएको अवस्थामा आवेशमा गरिएको निर्णयले व्यक्ति अप्राकृतिक मृत्युवरणको स्थितिमा पुग्छ ।

आत्महत्या गर्ने ९० प्रतिशत व्यक्तिमा मानसिक समस्या हुने गरेको मनोचिकित्सकहरु बताउँछन् ।

मानसिक समस्याका कारण आत्महत्याको प्रयास गर्नेले धेरैपटक आफूलाई भएको समस्या व्यक्त गर्न खोज्ने र उनीहरुको व्यवहार बुझ्ने हो भने पनि आत्महत्याको दर घटाउन सकिने मानसिक रोग विशेषज्ञ डा. अरुण कुँवरले बताए ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार आत्महत्या गर्ने देशहरुमध्ये नेपाल ८१औं श्रेणीमा रहेको छ । जसमा १६ देखि ४९ वर्षको उमेर समूहका महिलाहरु धेरै पाइएको छ ।

आत्महत्या गर्ने व्यक्तिले १८ देखि २२ पटकसम्म आत्महत्याको प्रयास गर्ने भन्दै मानसिक रोग विशेषज्ञ डा. कुँवर यसप्रति परिवार र नजिकका व्यक्तिहरु नै बढी चनाखो हुनुपर्ने बताउँछन् ।

सामाजिक, आर्थिक, पारिवारिकलगायत मनोसामाजिक समस्यामा परेकाहरु आत्महत्याको उच्च जोखिममा हुने अध्ययनहरुले देखाएका छन् ।

त्यस्तै, लागुपदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिंगी, कैदी र एचआइभी संक्रमितहरुमा पनि आत्महत्याकोक्रम बढेको पाइएको छ ।

पारिवारिक सहयोगको अभाव र आफ्नो कुरा खुलेर सुनाउन नसक्ने समस्याका कारण पनि आत्महत्या बढ्दै गएको हो ।

प्रत्येक आत्महत्या व्यक्तिगत समस्याका कारण हुने गरे पनि कुनै व्यक्ति आत्महत्याको तहमा पुग्नुमा कुनै न कुनैरुपमा समाज पनि जोडिएकै हुन्छ ।

आत्महत्याको दर घटाउन सामूहिक प्रयासको आवश्यकता देखिन्छ । परिवारमा कोही सदस्यले असामान्य व्यवहार देखाउन थाले उसलाई तत्काल मनोपरामर्श वा उपचारमा ध्यान दिनसक्ने हो भने पनि आत्महत्याको दरमा कमी ल्याउन सकिन्छ ।

भिडियो हेर्नुहोस्