Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिबारे नेपालको आपत्ति


0
Shares

काठमाडौं, फागुन ४ । नेपालमा भारतीय जनता पार्टीको सरकार गठन गर्ने तयारी भइरहेको भनेर भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो अभिव्यक्तिबारे सरकारले आपत्ति जनाइसकेको जानकारी दिनुभएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ट्विटरमार्फत सो विषय जानकारीमा लिइएको र यस विषयमा औपचारिक रुपमै आपत्ति व्यक्त गरिएको जनाउनुभएको छ ।

मुख्यमन्त्री देवले गत शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

देवले शनिबार राजधानी अगरतालाको एउटा पार्टी बैठकमा भाजपा अध्यक्ष रहेका बेला शाहले त्यस्तो योजना सुनाएको बताएका थिए ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्कका सहसचिव अरन्दिम बाग्छीलाई फोन गरेर भारतीय जनता पार्टी (भाजपा) का तत्कालीन अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार बनाउने योजना रहेको बताएको भन्ने देवको अभिव्यक्तिका सम्बन्धमा चासो व्यक्त गर्दै भारतको सरकारको ध्यानाकर्षण गराएको दूतावास स्रोतले जनाएको छ ।

दूतावासका एक उच्च अधिकारीका अनुसार राजदूत आचार्यले देवको अभिव्यक्तिका बारेमा भारतीय पक्षलाई प्रस्ट पारिदिन समेत भन्नुभएको छ ।

जवाफमा भारतीय पक्षले यस विषयलाई नोट गरिएको चाँडै नै प्रष्ट पार्ने जवाफ दिएको बताइएको छ ।

आगामी बिहीबारको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्ने सम्भावना रहेको दूतावास स्रोतले जनाएको छ ।

यसैगरी देवको अभिव्यक्तिप्रति श्रीलंकाले पनि कूटनीतिक च्यानलमार्फत आपत्ति जनाएको स्रोतको दाबी छ ।

भारतको विपक्षी पार्टी भारतीय राष्ट्रिय कांग्रेसले पनि देवको भनाइप्रति आपत्ति जनाएको छ ।

कांग्रेसले यस किसिमका अभिव्यक्तिले नै भारतको छिमेकीहरुसँगको सम्बन्ध खराम्रो बन्न पुगेको समेत जनाएको छ ।