
-प्रकाश लम्साल/ईमेज
बारा । बाराको कलैया जिल्ला अस्पताल अस्तव्यस्त हुँदा सेवाग्राही मर्कामा परेका छन् । आवश्यक चिकित्सक, कर्मचारी तथा औषधिको अभाव हुँदा अस्पतालमा समस्या देखिएको हो ।
कुनैबेला न्यून आर्थिक अवस्था भएकादेखि सम्पन्न परिवारको उपचारका लागि भरोसा बनेको बाराको जिल्ला अस्पताल लथालिंग अवस्थामा छ ।
अस्पताल व्यवस्थापनको समिति नै बेखबर बन्नु र आवश्यक जनशक्ति नहुनुले पनि सेवाप्रवाह कमजोर बन्दै गएको हो ।
डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफर गरी ५९ जनाको दरबन्दी रहे पनि १ जना करार प्रसुति विशेषज्ञ २ वर्ष सेवा दिन आएका ४ जना एमबिबिएस उत्तीर्ण चिकित्सक मात्र अस्पतालमा रहेका छन् ।
अस्पतालमा भौतिक पूर्वाधारको राम्रो अवस्था भइकन पनि जनशक्ति अभावका कारण अस्पतालको सेवा प्राय बन्द रहने गरेको छ ।
अस्पतालका निमित्त सुपरिटेन्डेन्ट प्रेम चन्द्र चौरासीया भने ५ जनाको दरबन्दीमा कोही पनि नरहेकाले सरकारले चासो नदिए बन्द गरे हुने बताउँछन् ।
पहिलेपहिले दैनिक २ सयदेखि ३ सयकोे हाराहारीमा बिरामी आउने गरे पनि अहिले भने त्यो संख्या निकै घटेको छ ।
डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफरदेखि सरसफाइसम्मको कामका लागि ५९ जनाको दरबन्दी रहे पनि अहिले ११ जना मात्र जनशक्ति उपलब्ध छन् ।
अहिले अस्पतालमा अपरेसन सेवा पनि बन्द भइसकेको छ ।
निजी अस्पतालमा सुत्केरी गराउँदा ३० देखि ५० हजार रुपैयाँसम्म खर्च हुने भएकाले आर्थिक अवस्था कमजोर हुनेहरु ठूलो मारमा परेका छन् ।
प्रदेश सरकार मातहत रहेको अस्पतलाको व्यवस्थापनका लागि सेवासुविधा पुर्याउन चासो पुगेको छैन ।
प्रदेश सरकारले निर्माण गरेको समिति समेत बेखबर अस्पताल अस्तव्यस्त भएको स्थानीय बताउँछन् ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रका समस्यालाई तिन तहका सरकार गठन हुँदासम्म चासो नदिँदा स्थानीय झन् निराश छन् ।
प्रतिक्रिया दिनुहोस्