Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नक्कली काजमा करोड खर्च


0
Shares

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति प्राडा राजकुमार रौनियारले आफ्नो काज आफैँ स्वीकृत गरेको तथ्य खुलेको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा उपकुलपति रौनियारले आफैँ काज स्वीकृत गरेको पाइएको हो। 

उनले काठमाडौंदेखि विराटनगरसम्म ४० पटक गरेको हवाईयात्राको औचित्य पुष्टि गर्ने प्रमाण फेला परेको छैन । रौनियारविरुद्ध डेढ वर्षदेखि आफ्नो काज आफैँ स्वीकृत गर्दै पद जोगाउन प्रतिष्ठानको खर्चमा हवाईजहाजमा काठमाडौं जाने–आउने गरेको आरोप छ। यसका साथै तीनतारे होटलमा बस्ने, खाने गरेर करोडजति रकम हिनामिना गरेको भन्दै परेको उजुरीसम्बन्धी सतर्कता केन्द्रले छानबिन गरेको हो।

छानबिनमा उपकुलपति रौनियारले सन् २०१८ जुलाई ६ देखि सन् २०१९ मार्चसम्म पटक–पटक गरी २ लाख २८ हजार ८ सय बराबरको हवाई यात्रा गरेको देखिएको छ। सन् २०१८ अगस्ट ९, २४, २७, अक्टोबर ५, १०, नोभेम्बर २१, २३, २६ र सन् २०१९ फेब्रुअरी २१ को बोर्डिङ पास पेस नगरेको तथा सन् २०१८ डिसेम्बर २३ को बोर्डिङ पास अर्कै व्यक्तिको नाममा पेस गरेको  छानबिनमा देखिएको छ। 

सन् २०१८ नोभेम्बर २ को टिकटमा ६ हजार ९ सय उल्लेख भएको देखिन्छ। तर, मेडिया ट्राभलको नाममा ७ हजार ९ सय को बिल पेस गरेर हिनामिना गरेको देखिएको छ। सतर्कताको प्रतिवेदनमा भ्रमण गर्दा प्रयोग गरेको भ्रमण साधन हवाईजहाजको टिकट र बोर्डिङ पास पेस भए पनि भ्रमणको औचित्व पुष्टि गर्ने प्रमाण पेस गर्न नसकेको पाइएको छ।

उपकुलपति डा. रौनियार काठमाडौं आउँदा तीनतारे होटल मनास्लुमा बस्ने गरेको देखिएको छ। होटल खर्चबापत ९२ हजार ५४१ को बिल बीपी प्रतिष्ठानको नाममा पेस गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार उनले ०७५ साल साउन १ देखि चैत ९ सम्म पटक–पटक गरी ५ लाख ६४ हजार ४६० बराबरको दैनिक भ्रमण खर्च बुझेका छन्। 

छानबिन गर्दा भ्रमणको औचित्य पुष्टि गर्ने प्रमाण पेस गरेको नदेखिएकाले यो भ्रमणलाई कानुनसम्मत भन्न नमिल्ने देखिएको सतर्कताले जनाएको छ। अन्नपूर्ण पोष्ट