१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


जिम्बाब्वेका पूर्व राष्ट्रपति मुगाबेको निधन


0
Shares

हरारे, भदौ २० । जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निर्वाचित भएका थिए । उनले करिब चार दशक देशमा शासन गरेका थिए ।

केही समयदेखि बिरामी अवस्थामा रहेका उनको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उनका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका छन् । 

सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल परेका उनी मुद्दा नचलाई १० वर्षसम्म बन्दी जीवन बिताएपछि राजनीतिमा सक्रिय भएका थिए ।

जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निर्वाचित बनेका थिए । सन् १९८७ मा उनी  राष्ट्रपति बनेका थिए ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको सुरुका वर्षमा उनी निकै लोकप्रिय भएका थिए ।

तर विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भएको भन्दै उनको आलोचना भएको थियो । (रासस/एएफपी)