काठमाडौं । भारतको विहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा नेपाली किशोरीको बलात्कारपछि हत्या भएको छ । प्रमाण लुकाउन उनको शवसमेत जलाइएको घटना ढिलो गरी सार्वजनिक भएको हो । बर्दियाको बारबिर्दिया नगरपालिका ३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाइएको जानकारी पाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हेम शाहीले बताए । घटना नेपाल भारत सीमानजिक कन्डवा चैनपुरमा भएको हो ।
किशोरी चैनपुर बजारमा परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए । किशोरीका भिनाजु नवलसिंह विकका अनुसार उक्त घटना २१ जनवरीको हो । घटनाका बेला किशोरी आमा सुकुम्वासी आयोगको लगतमा नाम दर्ताका लागि नेपालमा थिइन् ।
‘ससुराबुबा कामको सिलसिलामा डेराबाट बाहिर निस्कनुभएको थियो’, नवलसिंहले भने, ‘सालो पनि बजार गएको रहेछ । त्यही मौका छोपी सालीमाथि यस्तो अपराध भयो । घटनाका दिन अपरान्ह ४ बजे सालो बजारबाट फर्किएपछि घरधनी सियाराम साहले डेरामा पस्न नदिएको उनले सुनाए ।’
‘घरधनीको कुरा नसुनी कोठाभित्र पुग्दा सुमित्रा भुइँमा ढलेकी रहिछन्, नवलसिंहले भने, त्यसपछि उनले बाबुलाई खबर गरेका रहेछन् ।’
सुमित्राको घाँटीमा रातो डाम देखेपछि बाबुछोराले उपचार गराउन लैजाँदा स्थानीय चिकित्सकले उपचार गर्न नमानेको परिवारजनले बताए । ‘त्यस लगतै केही व्यक्ति भेला भएर शव जलाउन ददबाब दिए र नजलाए सबैको ज्यान लिने भन्दै धम्क्याए’, नवलसिंहले भने, ‘सादा कागजमा ससुराको अँैठाछाप पनि लिए । त्यसै रात जर्बजस्ती राखेर रोडको किनारमा नुन र चिनी हालेर स्थानीयले शव जलाएको उनले बताए ।’
स्थानीय प्रहरी चौकीका इन्चार्ज सञ्जीवकुमार रञ्जन र अभियुक्तबीचको अडियोवार्ता भारतीय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि घटना बाहिर आएको हो । अडियोमा रञ्जनले किशोरीको शवलाई मिडियाले थाहा पाउनुअघि नै गुपचुप रुपमा ठेगान लगाउन सल्लाह दिएका थिए । कान्तिपुर










प्रतिक्रिया दिनुहोस्