२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सत्ताधारी सांसदले नै अवरोध गरेपछि प्रदेश १ को बैठक स्थगित, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टार्ने रणनीति सफल


0
Shares

काठमाडौं, माघ २५ । प्रदेश १ को बैठक सत्ताधारी सांसदकै कारण स्थगित भएको छ ।

आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ४ बजेतिर सुरु भए पनि सत्ताधारी सांसदहरुले अवरोध गरेपछि स्थगित भएको हो ।

सभामुख प्रदीप भण्डारीले बैठक सुरू गरे लगत्तै सत्ताधारी दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उठेर मुख्यमन्त्रीले कारबाही गरेका १६ जना सांसदलाई यहाँ बस्न दिनुहुन्न भन्दै विरोध गरेपछि दाहाल–नेपाल समूहका सांसदहरुले प्रतिरोध गरेका थिए ।

उनीहरुले अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको भन्दै बैठक सुरू गर्न माग गरेका थिए ।

यसअघि आइतबारै बसेको कार्यव्यवस्था समितिको बैठमा सत्ताधारी सांसदहरूले सूचना टाँसेर केही दिन संसद रोक्न गरेको मागको प्रस्ताव प्रचण्ड–नेपाल पक्षसहित अरू दलले मानेका थिएनन् ।

बैठकमा सत्ता पक्षका सांसदले उठेर विरोध गरेपछि सभामुखले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

आइतबारको बैठकमा ओली पक्षीय मुख्यमन्त्री शेरधन राईविरुद्ध दाहाल–नेपाल पक्षीय बहुमत सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव टेबल हुने कार्यक्रम थियो ।

यसअघि गत माघ ७ गते बसेको बैठक मात्र ३ मिनेट बसेर स्थगित भएको थियो ।