काठमाडौं । भारतले अनुदानमा दिएको खोप अहिले धमाधम लगाइएको छ । चीन र बेलायतले पनि सीमित संख्यामा डोज दिने भनेका छन् । तर, खरिद गर्ने विषयमा भने अहिलेसम्म कुनै ठोस प्रगति भएको छैन ।
१८ वर्ष उमेर नपुगेका तथा विभिन्न स्वास्थ्य अवस्थामा भएका व्यक्तिलाई खोप लगाउन मिल्दैन । त्यसैले ७२ प्रतिशत नागरिकलाई मात्र खोप लगाउने सरकारी तयारी छ । यसरी दुई करोड १६ लाख जनतालाई दुई–दुई डोज लगाउन नेपाललाई चार करोड ३२ लाख डोज खोप आवश्यक पर्छ । तर, यो खोप जुटाउने विषयमा अहिलेसम्म कसैसँग पनि सहमति भएको छैन ।
अहिलेसम्म १० लाख डोज भारतबाट आएको छ, थप १० लाख भारतले र तीन लाख डोज चीनले दिने आश्वासन दिएका छन् । यसरी अनुदानमा २३ लाख डोज खोप आउने आशा भएपछि चार करोड नौ लाख डोज कहाँबाट कसरी जुटाउने भन्नेमा नेपाल सरकार अझै स्पष्ट भइसकेको छैन ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिङ्करीका अनुसार थप खोप खरिद गर्न भारतीय कम्पनी सेरमसँग छलफल भइरहेको छ । ‘भारतले अनुदानमा दिएको १० लाख डोज आएको छ, तर थप खोप खरिदका लागि सम्बन्धित कम्पनीसँग छलफल सुरु भएको छ । अहिले अनुदानमा आएको सिरम इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड हो । त्यही खोप ल्याउने विषयलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।
सबै जनतालाई तीन महिनामा खोप लगाउन सम्भव नभएको डा. तिङ्करीको भनाइ छ । ‘दुनियाँमा यसै पनि मागअनुसार खोपको उत्पादन भएको छैन । त्यसको खरिद, अयात र वितरणका आफ्नै प्रक्रिया छन् । अब तीनदेखि चार महिनामा सबै नागरिकलाई खोप लगाउन सकिन्छ भन्ने भन्ने अवस्था छैन,’ उनले भने । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्